रविन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सकियो सुनुवाइ, आजै आदेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा मिश्रले दायर गरेको रिटमाथि सुनुवाइ सकिएको हो । रिटमाथिको सुनुवाइ सकिएकाले आजै आदेश आउने सम्भावना छ ।
मंगलबार मिश्रको तर्फबाट उनकी श्रीमती सरिका कार्कीले आफ्ना श्रीमानलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिट दायर गरेकी हुन् । गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा अराजक गतिविधि गरेको आरोपमा उनी पक्राउ परेका थिए ।
उनीसँगै पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणा र स्वागत नेपाल छुटिसकेका छन् । दुवै जना हाजिर जमानीमा रिहा भएका हुन् । राजावादीको प्रदर्शनले हिंसात्मक रुप लिँदा एक पत्रकारसहित दुईजनाको ज्यान गएको थियो भने भौतिक संरचनामा ठूलो क्षति भएको थियो ।