सरकारले गभर्नर नियुक्त गर्न नसक्दा राष्ट्रकै बेइज्जत भयो : माओवादी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसक्नुले राष्ट्रकै बेइज्जत भइरहेको टिप्पणी गरेकी छन्। आज प्रतिनिधिसभा बैठकमा उनले बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुको कारण समेत माग गरिन्।
‘दुई तिहाइको बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुको कारण के होला ? गभर्नर नियुक्तिको विषयमा बाहिर जुन स्थिति देखिएको छ। सरकारमा आबद्ध दलको दलगत स्वार्थ नमिलेर अथवा विभिन्न कारणले गभर्नर नियुक्त भएको छैन भन्ने कुरा बाहिर आएको छ । यसले राष्ट्रको बेइज्जत भइरहेको छ’, उनले भनिन् । उनले राष्ट्रको बेइज्जत नगर्न र योग्य व्यक्तिलाई गभर्नर बनाउन आग्रह गरिन् ।