‘सत्ता साझेदार दुवै नेता गभर्नरमा कार्यकर्ता नियुक्त गरेर वित्तीय क्षेत्र कब्जा गर्न चाहन्छन्’

काठमाडौं । प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सत्ता साझेदार दुवै शीर्ष नेता गभर्नरमा आफ्नो दलको कार्यकर्ता नियुक्त गरेर वित्तीय क्षेत्र कब्जा गर्न चाहेका आरोप लगाएका छन् ।
आज (शुक्रबार) प्रतिनिधिसभा बैठकमा सांसद सिंहले एमाले–कांग्रेसको झगडाले गभर्नर नियुक्ति नभएको भन्दै यसले समग्र अर्थतन्त्रलाई असर गरेको बताएका छन् । ‘दुई दलको भागबण्डाको झगडाले अहिलेसम्म गभर्नर नियुक्ति भएन । त्यसको आर्थिक इम्प्याक्ट कति पर्छ बैंकहरू र पूरा फाइनान्सियल सिस्टममा सरकारलाई मतलब छैन । मतलब यति मात्र छ कि म आफ्नो कार्यकर्ता राखौं र फाइनान्सियल सेक्टर कब्जा गरौं,’ उनले भने ।
यो कार्यकर्ताहरूको मात्र नभई नेपाली जनताको पनि देश हो भन्दै उनले यसमा सत्ता साझेदार दुवै शीर्ष नेता दोषी रहेको प्रस्ट्याए । उनले भने, ‘मलाई लाग्छ दुवै जना सहमत छन् कि देशलाई ध्वस्त पारौं, हामी दुई जना राजा जस्तै अगाडि गाडी लिएर घुमौं ।’