गोकुल बास्कोटाको प्रश्न : अन्तिम पटक मन्त्री भएको हो ? 

‘राजा–राजा भनेको छ, निन्द्रा पनि नपर्ला जस्तो भइसक्यो, आउँदैन हजुर कोशिस नै नगर्नुस्’


२२:०९ बजे

काठमाडौंं । सत्तारुढ नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारका मन्त्रीहरूलाई अन्तिम पटक मन्त्री बनेको हो भन्दै प्रश्न गरेका छन्। आज (शुक्रबार) को प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि बोल्दै उनले फोन गर्दा नउठाउने र खोज्दा नभेटिने भन्दै क्षेत्र केन्द्रित नहुन आग्रह गरेका छन्।

‘मन्त्री हुने साथीहरूसँग दुःखेसो छ। उहाँहरू अन्तिम पटक मन्त्री भएको हो कि ? फर्केर आएपछि सांसदको लहरमा बस्नु हुन्छ मेरो प्रश्न छ। सत्तापक्षकै भए पनि यति गुनासो राख्न पाउँछु’, उनले भने, ‘बजेट, नीति कार्यक्रममा देशलाई सोचेर गर्नुस् । क्षेत्र केन्द्रित नगर्नुस् । फोन गर्दा फोन उठ्दैन, जाँदा मान्छे हुँदैन। कहाँ खोज्न जाने टुकी बालेर ?’ 

उनले सत्तापक्षका सांसदलाई विपक्षमा भोट हाल्न नसकिने भएकाले नीति कार्यक्रम पक्षमा नै बोल्दा हुने टिप्पणी गरे । बास्कोटाले राजावादीलाई तासको बुकमा मात्रै राजारानी भेटिने भन्दै आन्दोलनको आवश्यकता नभएको टिप्पणी गरे । ‘केही साथी व्यवस्था बदल्न आन्दोलनमा हुनुहुन्छ । सरकार संविधान नै संशोधन गर्छु भनिरहेको छ। किन आन्दोलन गर्नुपर्‍यो अब यही भित्रबाट पुग्छ, यहाँ पुग्दैन होला अर्को चुनावमा कोशिस गर्नुस्, बहुमत ल्याउनुस्’, उनले भने, ‘तासको बुकका राजारानी खोजेर जिन्दगी गुजार्नुस्। बाँकी त अब कहाँबाट आउनु । राजा–राजा भनेको छ, निन्द्रा पनि नपर्ला जस्तो भइसक्यो । आउँदैन हजुर कोशिस नै  नगर्नुस्, समयको बर्बादी हो।’

उनले लोकतन्त्रको विकल्प नभएको बताए । समाज पछाडि नफर्कने उनको भनाइ छ । सांसद बाँस्कोटाले सत्तारुढ नेपाली कांग्रेसका कतिपय सांसदहरुले नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाएकामा सरकारमा बसेर दोग्ला कुरा गर्न नसुहाउने बताए । ‘एउटा गीत सुन्या थिएँ मैले, हेरेको तिमीलाई आँखाले होइन मनले हो । मनले हेरे एउटा कुरा देखिन्छ, आँखाले हेरे अर्को देखिन्छ । केले जोख्नु हुन्छ । यो वर्स्ट  छैन । पर्फेक्ट भएन होला, वर्स्ट  छ ? ल भन्नु न त,’ उनले भने, ‘यहाँ असन्तुष्टि सत्ता पक्षकै साथीहरुले राख्नु भाछ । यो दोग्ला दोग्ला तालको समर्थन नगरौं भन्ने लाग्छ मलाई । पर्सी विपक्षमा भोट हाल्न सक्नु हुन्न अब कसलाई खपत गर्न यहाँ बेकारको कुरा गर्नु ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७