रवीन्द्र मिश्रलाई सातौं पटक म्याद थप्न लगियो अदालत, फोटो खिच्न दिइएन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सातौं पटक म्याद थप्नका लागि अदालत पुर्याइएको छ। वैशाख २१ मा थपिएको पाँच दिनको म्याद सकिएपछि उनलाई जिल्ला अदालत काठमाडौं लगिएको हो। मिश्रलाई आज पनि हत्कडी लगाएरै अदालत लगिएको छ । गाडीबाट ओर्लिएपछि पनि हत्कडी नफुकालिएको त्यहाँ पुगेका राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्कीले जानकारी दिएका छन् ।
उनले आफूले मिश्रको फोटो खिच्न खोज्दा प्रहरी इन्स्पेक्टरले ‘कैदीको मानवअधिकार हनन् हुन्छ’ भन्दै नदिएको बताए। ‘मेरो मोबाइल खोस्ने प्रयास गरियो । आज पनि दुईटै हातमा हत्कडी लगाइएको थियो नमस्कार गर्न खोज्दा पनि दिइएन। हत्कडी लाउँदा मानव अधिकार हनन् नहुने, फोटो खिच्दा हुने भनी सोधें ?’, राप्रपा नेता कार्कीले भने।