‘भारत–पाकिस्तान युद्धमा गोरखा सेना प्रयोग नगर्ने वातावरण बनाइयोस्’

काठमाडौँ । सांसद मिना तामाङले भारत–पाकिस्तान युद्धमा गोरखा सेना पहिलो चरणमा प्रयोग नगर्ने वातावरण निर्माणका लागि पहल गर्न सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद तामाङले पहिलो चरणमै र पहिला घेरामा गोरखा सैनिकको प्रयोग हुने सम्भावना रहेको बताइन् ।
पहिलो घेरामा गोरखा सैनिकको प्रयोग नहुने वातावरण निर्माण गर्न कूटनीतिक पहल गर्न सरकारसँग उनले माग गरिन् । उनले भारत र पाकिस्तानबीच द्वन्द्व हुँदा त्यहाँ रहेका नेपालीको अवस्था के हुन्छ ? त्यसबारे सचेत रहन सरकारको ध्यानाकर्षण गराइन् । तामाङले भनिन्, ‘दुई देशबीचको लडाइँमा पहिलो प्रयोग नेपाली गोर्खाली सेना प्रयोग नगर्न भारत सरकारबारे गम्भीर निकास र छलफलबारे पहल गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’
दुई देशबीचको तनावका कारण भारतमा काम गर्न गएका नेपालीको संरक्षण र उद्धारबारे समेत ख्याल गर्न उनले आग्रह गरिन् । ‘पाकिस्तान र भारतको सीमा कश्मीरमा भएको सांघातिक हमलाले मानवीय क्षति र आतंक फैलिएको छ,’ सांसद तामाङको भनाइ छ, ‘जसकारणले पाकिस्तानले लक्षित गरेको भारतीय सहरमा काम गर्न गएका नेपाली उक्त घटनामा पर्ने भएकाले उनीहरुको संरक्षण एवं उद्धारबारे छलफल होस् ।’