गभर्नर नियुक्तिमा सकस : कांग्रेस–एमालेको सहमति संकटमा


१७:०६ बजे

काठमाडौँ । नेपाल राष्ट्र बैंककी कामु गभर्नर निलम ढुङ्गानाले कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत नगर्ने अडान लिएकी छन्। ढुुङ्गानालाई भेट्न गएका नेपाल वित्तीय संस्था कर्मचारी संघका पदाधिकारीसँग कुरा गर्दै उनले भट्टको राजीनामा स्वीकृत नगर्ने बताएकी हुन् । ढुङ्गानाले भनिन्, ‘कार्यकारी निर्देशकको तहभन्दा तलका कर्मचारीको राजीनामा आयो भने स्वीकृत गर्छु, कार्यकारी निर्देशकको गभर्नर आएपछि स्वीकृत हुन्छ । मैले स्वीकृत गर्न मिल्दैन ।’ ढुङ्गाना आफू पनि गभर्नरको प्रतिस्पर्धी भएकाले भट्टको राजीनामा स्वीकृत गरेर बाटो खोलिदिने पक्षमा नभएको बताएकी छन्  ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा प्रमुख सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वबीचको ‘राजनीतिक सहमति’ संकटमा परेको छ । कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नरमा नियुक्ति गर्न कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत छन् । ओलीले देउवासँगको भेटमा बिहीबारसम्ममा कांग्रेसबाट प्रस्तावित गभर्नर नियुक्ति गरिसक्ने वाचा पनि गरेका छन् । तर, गभर्नरका लागि आफ्नो दाबी कायमै राखेकी कायममुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले बुधबारसम्म पनि भट्टको राजीनामा स्वीकृत गरेकी छैनन् । भट्टको राजीनामा स्वीकृत नभएसम्म उनलाई गभर्नर नियुक्ति गर्ने बाटो खुल्दैन ।

संघले एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंक ऐनअनुसार बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै गभर्नरको पदमा नियुक्त गर्नुपर्नेमा रिक्त भएको एक महिनासम्म नयाँ गभर्नर नियुक्त नहुनु लज्जास्पद भएको बताएको छ। वित्तीय क्षेत्रको नियामक राष्ट्र बैंकलाई राजनीतिक दाउपेच, बिचौलियाको चलखेल तथा सिमित व्यक्तिको निजी स्वार्थको खेलमैदान बनाउनु र केन्द्रीय बैंकलाई नेतृत्वविहीन राखिएको प्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ ।

‘मुलुक एफएटीएफको ग्रे लिस्टमा रहेको अवस्थामा केन्द्रीय बैंकको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा नेपाल राष्ट्र बैंक विगत एक महिनादेखि नेतृत्वविहीन अवस्थामा छ । सामान्य निर्णयहरू बाहेक नीतिगत निर्णयहरू हुन नसकिरहेको अवस्था छ । बजेट निर्माणको समयमा सरकारको आर्थिक सल्लाहकारको रुपमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा केन्द्रीय बैंकको भूमिका प्रभावहीन देखिन्छ,’ संघले भनेको छ। विद्यमान चुनौतीहरूलाई सहज रूपमा सम्बोधन गर्न सक्ने सक्षम व्यक्तिलाई यथाशीघ्र गभर्नरको रूपमा नियुक्ति गर्न संघले माग  गरेको छ ।

‘आफूलाई काबिल भन्दै गभर्नरको दाबेदारी प्रस्तुत गरिरहेको वर्तमान कार्यवाहक नेतृत्वबाट एकजना कर्मचारीको राजीनामा समेत स्वीकृत गर्न नसक्नुले लाचारीपन व्यक्त भइरहेको महसुस हामीलाई भएको छ र नेतृत्वको नैतिकता एवम् क्षमतामा नै प्रश्न उठेको छ,’ कर्मचारी संघले विज्ञप्तिमा भनेको छ। ढुंगानाको कार्य नेपालको संविधानको धारा २९, श्रम ऐन २०७४ को दफा १४१, सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ को नियम ३५ तथा नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ को समेत उल्लंघन भएको संघले जनाएको छ ।

कांग्रेस सभापति देउवाले मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा भट्टको राजीनामा अस्वीकृत भएको घटनालाई परिलक्षित गर्दै प्रधानमन्त्री ओलीले कांग्रेसको भागमा गभर्नर दिन चाहे पनि राष्ट्र बैंकको आन्तरिक समस्याको कारण ढिलाइ भएको बताएका थिए। भट्टको राजीनामा स्वीकृत नभएपछि बुधबार पनि गभर्नर सिफारिस समितिको बैठक बस्न सकेन। समितिका एक सदस्यले हालसम्म बैठक नबसेको र आगामी बैठकका लागि जानकारीसमेत नआएको बताए । सिफारिस समितिको एकपटक पनि बैठक बस्न नसकेपछि पूर्वगभर्नर विजयनाथ भट्टराईले सदस्य पदबाट राजीनामा दिइसकेका छन् । उनको ठाउँमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सदस्य नियुक्त गरिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७