श्रीमतीले मृत्यु घोषणा माग गरेका श्रीमान जीवितै भेटिए


१९:५९ बजे

काठमाडौं । सुनसरीको इटहरीमा एक महिलाले आफ्नो जिउँदो श्रीमानलाई मृत्यु भइसकेको भन्दै स्थानीय निकायबाट कागजात समेत बनाएकी छन् । उनले सुनसरीको इटहरी उपमहानगरपालिकाका स्थानीय जनप्रतिनिधिलाई प्रलोभनमा पारेर जीवित श्रीमानलाई मृत्यु भइसकेको कागजात बनाएकी हुन् ।  

सुनसरीको इटहरी उपमहानगरपालिका–२० मा मृत्युको न्यायिक घोषणा माग गरिएको एक घटनाले यतिबेला अदालत र प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको छ भने पैसाका लागि स्थानीय जनप्रतिनिधिले कुन हदसम्मको गैरकानुनी काम गर्दा रहेछन् भन्ने समेत खुलासा गरेको छ । अदालतले मृत्यु पुष्टि हुने सर्जमिनसहितका थप कागजात मागेपछि यो घटना बाहिर आएको हो । मृत्युको न्यायिक घोषणा माग गरिएका व्यक्ति जीवित नै भेटिएपछि घटना सम्पति हत्याउन जनप्रतिनिधिको मिलेमतोमा अगाडि बढेको पुष्टि भएको छ ।

मरेको भनिएका व्यक्ति कतारमा जिउँदै भेटिएपछि मृत्युुको सिफारिस गर्ने इटहरी महानगरपालिका–२० का वडा अध्यक्ष पनि अनुसन्धानमा तानिएका छन् । प्रहरी प्रशासनले अदालतको आदेशअनुसार वडाध्यक्ष र श्रीमती वा अरु संलग्नमाथि कस्तो कारवाही हुने भन्ने कुरा निर्णय हुने बताएको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार घटनामा मृत्युको न्यायिक घोषणा माग गरिएका व्यक्ति जीवित भएको र अब कसरी अगाडि जान्छ भन्ने कुरा अदालतको निर्णय अनुसार हुने बताएको छ । 

सम्पत्तिका लागि आफ्नै जिउँदो श्रीमानलाई मरेको भनेर सिफारिस माग्ने श्रीमती र आर्थिक लोभमा परेर सिफारिस गरिदिने जनप्रतिनिधि यस घटनाका मुख्य पात्र हुन् । स्थानीयले बताए अनुसार मृत्युु भइसकेको भनिएका व्यक्ति सुनसरीको साविक हाँसपोसा गाविस–२ हाल इटहरी उपमहानगरपालिका–२० स्थायी ठेगाना भएका दीपबहादुर खड्का हुन् । उनी केही वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा थिए । अनुसन्धानका क्रममा उनी परिवारको प्रत्यक्ष सम्पर्कमा निरन्तर रहँदै आएको पाइएको छ । 

उनका बाबु चन्द्रबहादुर खड्काले गत वर्ष छोरा दीपबहादुरलाई कतारमै भेटेर फर्केका थिए । विदेशमा भएकाले दीपबहादुर गाउँमा लामो समयदेखि देखिएका थिएनन् । वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका दीपबहादुर या त कुनै अपराधजन्य कसुरमा त्यहाँको कानूनी कारवाहीको सिलसिलामा परेर लामो समय उतै बसेको हुनसक्ने केहीको आशंका छ । यो कुरा अहिलेसम्म पुष्टि भएको छैन । जे होस्, विदेश जान्छु भनी झण्डै १२ – १३ वर्ष अघि घरबाट निस्किएका उनी त्यसयता गाउँमा देखा नपरेको स्थानीयको भनाइ छ । 

यही आधारलाई टेकेर दीपबहादुर खड्काकै श्रीमती कुस्मादेवी खड्काले आफ्ना लोग्ने अर्थात प्रभुराम खड्काको नाती, चन्द्रबहादुर खड्काको छोरा दीपबहादुर २०६८ जेठ १६ गते विदेश जान्छु भनी हिँडेयता परिवारको सम्पर्कमा नभएकाले मृत्युको न्यायिक घोषणा गरी पाऊँ भन्दै २०८१ चैत १० गते जिल्ला अदालत, सुनसरीमा निवेदन दिएकी थिइन् । उनले निवेदनका साथमा इटहरी उपमहानगरपालिका–२० को सिफारिस पनि साथमै पेश गरेकी थिइन् । 

उक्त सिफारिसमा वडाध्यक्ष मणिराम श्रेष्ठको हस्ताक्षर रहेको पत्र संख्या ०८१–०८२ च.न. २४३० मा उल्लेख भए अनुसार निवेदकको गाउँमा बुझ्दा १२–१३ वर्षदेखि निज दीपबहादुर खड्का बेपत्ता रहेको बुझिएको भन्दै सिफारिस गरेको देखिन्छ । वडाको सिफारिससहित बेपत्ता भएका भनिएका दीपबहादुर खड्काकी श्रीमती कुस्मादेवी खड्काले सुनसरी जिल्ला अदालतमा चैत ५ गते पेश गरेको निवेदन उपर चैत ६ गते जिल्ला न्यायाधीश प्रकाश राउतले केही बुझ्नु पर्ने भन्दै आदेश गरेपछि जिउँदो मान्छेलाई मरेको न्यायिक घोषणा गरेर सम्पत्ति कुम्ल्याउन खोज्ने नियत देखिएको हो । 

जिल्ला न्यायाधीश राउतले गरेको आदेशानुसार इलाका प्रहरी कार्यालय इटहरीलाई जिल्ला अदालत, सुनसरीले निम्न विषय खुलाई पठाइदिन भन्दै पत्र लेखेको पत्रमा बेपत्ता भएको भनिएका दीपबहादुर खड्काका बारेमा खोजतलासका लागि तत्कालीन अवस्थामा त्यस कार्यालयमा कुनै निवेदन परेको छ कि छैन ? लेटरप्याडमै खुलाई पठाउन भनिएको छ । त्यस्तै, निजका परिवारको सदस्य संख्या, छोराछोरी, दाजुभाई एवं आफन्तका बारेमा समेत जनप्रतिनिधिका रोहबरमा सर्जमिन गरी पठाउन भनिएको छ ।

यसअघि प्रलोभनमा परेर सिफारिस दिने इटहरी उपमहानगरपालिका–२० का वडा अध्यक्ष मणिराम श्रेष्ठ बल्ल यतिबेला अप्ठ्यारोमा परेका छन्, उनले गत महिना गोप्य ढंगबाट दिएको सिफारिसको काउण्टरमा न्यायालयले सर्जमिन नै मगाएको छ । सर्जमिन भन्ने बित्तिकै सार्वजनिक रुपमा कम्तीमा ७ जना स्थानीयले प्रहरी र जनप्रतिनिधिको रोहबरमा नागरिकतासहित उपस्थित भएर हस्ताक्षर गर्नुपर्ने हुन्छ । त्यसरी हस्ताक्षर गर्न प्रहरी र जनप्रतिनिधिको रोहबरमा उपस्थित हुने व्यक्तिहरू आफ्नै घरपरिवारको सदस्य हुन मिल्दैन । त्यसले गर्दा अब यो जिउँदै मान्छेलाई बेपत्ता भएकाले मृत्यु भएको न्यायिक घोषणा गरिदिन भनेर सिफारिस माग्ने र सिफारिस गर्ने दुबै कानूनी फन्दामा पर्ने देखिएको छ । यस घटनाबारे नेपालबहसले राखेको प्रश्नमा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजेन्द्र पौडेलले मृत्युको न्यायिक घोषणा माग गरिएका दीपबहादुर खड्का जीवित नै भएको बताए । उनले यस घटनामा प्रहरी कसरी अगाडि बढ्छ भन्ने कुरा जिल्ला अदालत सुनसरीको आदेशमा भर पर्ने बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७