तातोपानी नाका जोड्ने सडक भासियो, बाटोमै रोकिए कन्टेनर

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ तातोपानीबाट चीन जोड्ने सडक भासिदा उत्तरी नाका तातोपानीबाट कन्टेनर आउजाउ अवरुद्ध भएको छ। बुधबार बेलुकीदेखिको अविरल वर्षातपछि भोटेकोशी गाँउपालिका–२ कोप्लाङस्थित १५ फिट बाटो तीन फिट तल भासिदा यहाँ कन्टेनर र सवारीसाधन आउजाउ पूर्ण रुपमा ठप्प बनेको हो । सडक भासिने क्रम अझै नरोकिएको र राजमार्ग खुलाउन पहल भइरहेको इलाका प्रहरीका कोदारीका ट्राफिक छविलाल निरौलाले बताए ।
उनले भने, ‘सडक बुधबार बेलुकादेखि अवरुद्ध भएकाले तातोपानी भन्सारबाट चीनमा सामान लिन हिँडेका कन्टेरनहरू तातोपानीको १० किलोमा र चीनबाट सामान दिएर आएका कन्टेर सीमाक्षेत्रमै रोकिएका छन ।’ बाह्रबिसे तातोपानी २६ किलोमिटर सडक यसअघिदेखि बाढीपहिरोले जोखिमपूर्ण र जीर्ण छ । यहाँका दर्जनभन्दा पुराना पहिरो खस्न थालेका छन् । बर्खाअघि सडक अवरुद्ध हुन थालेपछि स्थानीय त्रसित र व्यवसायी निरास बनेका छन् ।