आज छिनोफानो नभए शिक्षक महासंघले आन्दोलन थप चर्काउने 


२०८२ बैशाख १७ मंगलबार १६:३६ बजे

काठमाडौं । नेपाल शिक्षक महासंघले हालसम्म वार्तामा आफूहरूको मागप्रति सरकारसँग सकारात्मक नबनेको जनाएको छ। महासंघले आज सहमति नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन् ।  आज बिहान  बसेको नेपाल शिक्षक महासंघको बैठकमा शिक्षक नेताहरू सरकार आफूहरुको माग र मुद्दाप्रति गम्भीर नदेखिएको भन्दै आन्दोलन थप चर्काउनुपर्ने पक्षमा आफूहरु रहेको जनाएको छ ।  

सोही अनुसार आन्दोलनलाई थप सशक्त बनाएर माग सम्बोधनका लागि दबाब दिनेगरी निर्णय भएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले  बताए । महासंघको आज बसेको बैठकले हिजो राति सरकारसँग भएको सहमतिको मस्यौदामा परिमार्जन गरेको छ । आज सरकारसँग फेरि बस्ने बैठकमा परिमार्जित मस्यौदामा सहमतिको प्रयास गरिने शिक्षकहरु बताउँछन् । शिक्षामन्त्री रघुजी पन्तसहितको बैठकमा हिजो केही बुँदामा सहमति जुटेर मस्यौदा तयार गरिएको थियो ।

सो मस्यौदामाथि आज शिक्षक महासंघको बैठकमा छलफल भएको हो । मस्यौदामा केही थपघट गरिएको महासंघका एक शिक्षक नेताले बताए। ती शिक्षक नेताका अनुसार आजबाट आन्दोलनलाई उग्र बनाउने तयारी थियो । तर, सहमति उन्मुख भएपछि त्यो तयारी आज एक दिनलाई स्थगित गरिएको छ । यदि आज सहमति नजुटेको खण्डमा भोलिबाट आन्दोलन चर्काउने उनले बताए । माग सम्बोधनका लागि सरकारी पक्ष गम्भीर नदेखिएको भन्दै उनले आन्दोलनलाई थप सशक्त बनाइने बताए । 

शिक्षा मन्त्रालय र महासंघबीचको वार्तामा सरकारको तर्फबाट पैसा खर्च हुने मागहरू पुरा गर्न समस्या हुने मनसाय व्यक्त भएको बताइएको छ । यसअघि नै महासंघको तर्फबाट ९ बुँदे मागहरू शिक्षा मन्त्रालय र मन्त्रिपरिषद्बाट समाधान गर्नुपर्ने भन्दै पेस भरेको थियो । ती ९ बुँदे मागहरू पुरा गर्नका लागि १३ अर्बको बजेट चाहिने शिक्षकहरूको भनाइ छ । तर, सरकारको तर्फबाट भने  शिक्षकका सबै माग सम्बोधन गर्न थप ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान रहेको छ । शिक्षा मन्त्रालयका एक अधिकारीका अनुसार सबै मागहरू सम्बोधन गर्नका लागि थप ६५ अर्ब रुपैयाँ लाग्नेछ ।  

‘सरकार शिक्षकका माग र मुद्दाप्रति सकारात्मक देखिएन । विगतमा भएका सहमतिबाट समेत पछि हट्न खोज्यो । प्रधानमन्त्री नै पुरै नकारात्मक भए । पैसा लाग्ने कुरा केही सकिँदैन भन्ने जस्तो भयो,’ अध्यक्ष अधिकारीले भने । ‘निषेधित क्षेत्र तोडेर सामूहिक गिरफ्तारी दिनेसम्मको योजना बनेको छ, आज सहमति भयो भने आन्दोलनले नयाँ मोड लिन्छ,’ उनले भने । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली लगायतका शिक्षक नेताहरूले हिजो राति १२ बजेसम्म शिक्षामन्त्रीसँग छलफल गरेका थिए । तर सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको उक्त वार्तामा ठोस सहमति हुन नसकेको बताइएको छ । 

मन्त्रालयले आवश्यक तयारी गरेर आज फेरि वार्तामा बस्ने कार्यक्रम छ । आजको वार्तामा मन्त्रालयले ठोस तयारीसहित प्रस्तुत हुने अपेक्षा गरिएको छ । शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिएका थिए । केही विषय टुङ्गो लगाउन बाँकी रहेको र वार्ता सकारात्मक रूपमा अगाडि बढेको उनको भनाइ छ। शिक्षामन्त्री पन्तले कक्षा १२ को परीक्षा निर्धारित समयमा गर्ने पक्षमा आफूहरू रहेको बताउँदै सरकार गम्भीर भएर छलफलमा लागेको बताए । महाससंघसँग वार्ता सकारात्मक रूपमा अगाडि बढेकाले यथाशीघ्र वार्तालाई निष्कर्षमा टुङ्ग्याउने पक्षमा सरकार रहेको बताए । विद्यालय शिक्षा ऐनलगायत माग राखेर शिक्षक चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७