शिक्षक महासंघसँगको वार्ता सकारात्मक


२०८२ बैशाख १६ मंगलबार २०:५३ बजे

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षक महासंघबीचको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ । राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले आज सहमति हुन नसकेको हो ।

सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेको थियो । वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिए । उनले भने, ‘केही विषय टुङ्गो लगाउन बाँकी छ । वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ ।’

शिक्षामन्त्री पन्तले कक्षा १२ को परीक्षा निर्धारित समयमा गर्ने पक्षमा आफूहरू रहेको बताउँदै सरकार गम्भीर भएर छलफलमा लागेको उल्लेख गरे । उनले महासंघसँगको वार्ता सकारात्मक रूपमा अगाडि बढेकाले यथाशीघ्र वार्तालाई निष्कर्षमा टुङ्ग्याउने पक्षमा सरकार रहेको जानकारी दिए । महासंघका अध्यक्ष सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताए । उनले छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन निष्कर्षमा पुग्ने उल्लेख गरे ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले शिक्षक महासंघसँग वार्तालगायत विषयमा सहमति गर्न शिक्षामन्त्री पन्तलाई जिम्मेवारी दिएको थियो । मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्म शिक्षक आन्दोलनको माग सम्बोधन हुने बताएका थिए । विद्यालय शिक्षा ऐनलगायत माग राखी शिक्षकहरूले गत चैत २० गतेदेखि राजधानी काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७