चट्याङ लागेर दुई मजदुरको मृत्यु

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित त्रिवेणी ताल (हिडन लेक) पदमार्गमा काम गर्न गएका दुई मजदुरको चट्याङ लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभाको सिलिचुङ गाउँपालिका–२ का भरतकुमार राई र महेश राई रहेको स्थानीयले जानकारी दिएका छन्। पदमार्गको दोबाटोमा होटल व्यवसायी एवं पदमार्ग निर्माण समितिका अध्यक्ष राजमान गुरुङका अनुसार आइतबार दिउँसो परेको चट्याङ लागेर उनीहरूको मृत्यु भएको हो । त्रिवेणीताल पदमार्गको चिमाङ्गीमा सिढी लगाउने, रेलिङ हाल्ने र पदमार्ग फराकिलो बनाउन काम आइतबारदेखि थालिएको थियो ।
पदमार्गको स्तरोन्नती गर्न पर्यटन बोर्ड गण्डकी र गाउँपालिकाले १८ लाख रुपैयाँ सहयोग गरेको थियो । ‘पदमार्गको स्तरोन्नती गर्न आजबाट काम थालेका थियौं, दिउँसो असिनापानी र भयंकर चट्याङ पर्यो,’ उनले सुनाए, ‘चट्याङ लागेर दुई जना मजदुर भाइहरूको दुःखद मृत्यु हुन पुग्यो ।’ असिनापानी परेपछि उक्त क्षेत्रमा हिमपात भएको पनि गुरूङले बताए । समुन्द्री सतहदेखि ३८०० मिटर उचाइमा भएको घटनामा हिमपात भएकाले शव निकाल्न मुस्किल भएको पनि उनले बताए । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्त शर्माले चट्याङबाट मजदुरको मृत्यु भएको घटना प्रहरीमा आइपुगेको उनले बताए । जिल्ला प्रहरी कार्यालयबाट इन्सपेक्टरको नेतृत्वमा घटनास्थलतर्फ प्रहरी पठाएको उनले बताए।