अब हिमाली जिल्लामा पनि औलो


२०८२ बैशाख १४ शनिबार ०४:४३ बजे

कर्णाली । हिमाली जिल्लामा पनि औलो रोगको संक्रमण देखिन थालेको छ । हालसम्म सडक सञ्जालमा नजोडिएको दुर्गम जिल्ला हुम्लामा औलोको संक्रमण देखिएको हो ।   

कर्णाली प्रदेश, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले विश्व औलो रोग दिवसका अवसरमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार हुम्ला अदानचुलीको ताजाकोट गाउँपालिकामा दुईजनामा औलो संक्रमण देखिएको हो । विगतमा तराई तथा भित्री मधेसमा देखिने औलो रोग हिमालसम्म फैलिएपछि सरोकार भएकाहरू झस्किएका छन् । हिमाली क्षेत्रमै औलो देखिएपछि कर्णालीमा औलो रोग शून्यमा झार्ने लक्ष्यमा समेत चुनौती थपिएको छ । 

निर्देशनालयका सम्पर्क व्यक्ति श्यामलाल आचार्यले यसले गर्दा औलो निवारण अभियानमा चुनौती कायमै रहेको र प्रदेशका केही क्षेत्र अझै उच्च जोखिममा रहेको देखिएको बताए । उनले भने, ‘निर्देशनालयको चालु आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कअनुसार कर्णालीका विभिन्न जिल्लामा औलोका ३८ केस छन् । हुम्लामा संक्रमणको कुनै ट्राभल हिस्ट्री नभएका एक व्यक्तिमा पनि सङ्क्रमण भेटिएको छ । यसले सबैलाई झस्काएको छ ।’

आचार्यका अनुसार प्रदेशभरि सात वडा औलोको मध्यम जोखिममा छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका दुई, गुर्भाकोट नगरपालिका आठ, मुगुको खत्याड गाउँपालिका आठ, सोरु गाउँपालिका–४र ५ हुम्लाको अदानचुली गाउँपालिका तीन र ताजाकोट गाउँपालिकाको पाँच नं वडासहित सात वडा मध्यम जोखिममा छन् । यस्तै, प्रदेशमा  दुई सय ९८ वडा औलोको जोखिममा छैनन् भने ४१० वडा न्यून जोखिमममा रहेका छन् । हुम्लाको ताजाकोट २, ३ र ४ नं वडा भने औलोको उच्च जोखिममा रहेको सम्पर्क व्यक्ति आचार्यले बताए ।   

यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी औलो संक्रमण सुर्खेतमा देखापरेको छ । सुर्खेतका छ पालिकामा २५ जना बाहिरबाट आउने व्यक्तिबाट संक्रमण देखापरेको छ । जसमा पञ्चपुरी नगरपालिकामा सात, वीरेन्द्रनगर नगरपालिकामा छ, चौकुने गाउँपालिकामा पाँच, गुर्भाकोट नगरपालिकामा दुई, बराहताल र सिम्ता गाउँपालिकामा दुई-दुई र लेकबँेसी नगरपालिकामा एकजनामा आयातित औलो रोग संक्रमण देखापरेको जनाइएको छ । 

यस्तै, कालीकोटको खाँडाचक्रममा तीन, दैलेखमा आठबीस, चामुण्डाबिन्द्रासैनी, दुल्लु नगरपालिका र ठाँटीकाँध गाउँपालिकामा एक-एक गरी चार जना औलो रोगका बिरामी फेला परेको सम्पर्क व्यक्ति आचार्यले बताए । उनका अनुसार सबै बाहिरबाट आएका बिरामीहरु हुन् । कर्णालीमा स्थानीय औलो नियन्त्रण हुँदै गएको भए पनि खुला सीमाका कारण भारतबाट आयातित औलोको न्यूनीकरण गर्न निकै चुनौती रहेको उनले जनाए ।

आचार्यले भने, ‘स्वास्थ्य सेवा निर्देशनालयले औलो निवारणमा विभिन्न रणनीति अवलम्बन गरेर काम गरिरहेको छ । प्रभावकारी निर्णय लिन औलोसम्बन्धी निगरानी र सूचना प्रणाली सुदृढीकरण गर्ने, औलोको जोखिम रहेको स्थानमा भेक्टर नियन्त्रण कार्यक्रम सञ्चालन गरी सर्ने दरलाई घटाउने निर्देशनालयले रणनीति अपनाइरहेको छ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७