माओवादी घटकका दुई पार्टीसँग आजै एकता वार्ता हुँदैछ : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तराई–मधेश जागरण अभियानपछि सिङ्गो मधेश माओवादी र प्रचण्डमय भएको दाबी गरेका छन्। माओवादी सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र पनि एकताको नयाँ आधार बन्दै गइरहेको बताएका छन् ।
उनले आजै माओवादी घटक दुई पार्टीबीच एकता वार्ता हुन लागेको जानकारी दिए । उनले भने, ‘म आज अलि हतारमा छु, दुई माओवादी घटकसँग एकताको विषयमा कुरा गर्न अहिले नै जाँदैछु । वार्ताको नेतृत्व मैले नै गर्दैछु, फेरि हामी एकताको नयाँ प्रक्रियातिर जाँदैछौं ।’ प्रचण्डले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा गरेका कामले पार्टीप्रति आकर्षण बढेको दावी गरे ।
‘राजनीतिक उपलब्धिको रक्षा गर्ने जिम्मेवारी माओवादीको हो’
अध्यक्ष ‘प्रचण्ड’ ले लामो संघर्ष र जनताको वलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्ने प्रमुख जिम्मेवारी माओवादी केन्द्रको भएको बताएका छन् ।
प्रेस सेण्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारीको शपथ तथा पद हस्तान्तरण कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रका उपलव्धिको रक्षा तथा यो शासन व्यवस्थालाई सुदृढ गर्न माओवादी केन्द्र सधैँ लागिरहने बताए ।
आफ्नो पार्टी जनतासँगको सम्बन्धलाई सुदृढ गर्ने प्रयासमा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले हुलाकी राजमार्ग केन्द्रित अभियानपश्चात् मध्यपहाडी लोकमार्ग र उपत्यकासहित सहरी क्षेत्रमा पनि अभियान सञ्चालन गरिने बताए । अर्को प्रसङ्गमा अध्यक्ष दाहालले चिकित्सक एवं शिक्षकका जायज माग वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए ।
पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले विचार र नेतृत्वका कारण जनताले माओवादीलाई रुचाएका बताए । पत्रकार राष्ट्रका पहरेदार भएकाले सत्यतथ्यमा आधारित समाचारका माध्यमबाट जनतालाई सुसूचित गर्नुपर्नेमा जोड दिए । सेन्टरका पूर्वअध्यक्ष विष्णु सापकोटाले श्रमजीवी पत्रकारको हकहितलाई केन्द्रमा राखेर संगठन अघि बढ्नुपर्ने सुझाव दिए । नव निर्वाचित अध्यक्ष कमल गिरीले जनपक्षीय पत्रकारिता, श्रमजीवी पत्रकारको हकहित, स्वरोजगार सञ्चारमाध्यमको पक्षमा निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गरे ।