वार्ता निष्कर्षविहीन : शिक्षकद्वारा बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास

काठमाडौं । गत चैत २० गतेदेखि निरन्तर काठमाडौंको माइतीघर–नयाँ बानेश्वर सडकमा आन्दोलन गरिरहेका शिक्षकहरुले आज (शनिबार) भने निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् । माइतीघर–बबरमहल हुँदै नयाँ बानेश्वर क्षेत्र अघि बढेका शिक्षकले बानेश्वरको निषेधित क्षेत्र तोड्ने प्रयास गरेका हुन् ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोकेको छ । शिक्षकहरूले शैक्षिक हड्ताल गरेर काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको २५ दिन भइसकेको छ । लामो समय सार्वजनिक शिक्षा प्रभावित भएपछि सरकारले माग सम्बोधनका लागि केही तदारुकता देखाएको छ ।
आज बिहान मात्रै सिंहदरबारमा वार्ता पनि भएको थियो । तर, वार्ता निष्कर्षविहीन भएको छ । यसअघि बिहीबार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनभित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिइसकेको छ । हिजो पनि वार्ताका लागि भनेर सिंहदरबार पुगेका शिक्षकको टोली शिक्षामन्त्रीलाई नभेटी फर्केको थियो ।