काठमाडौं उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरणका एक अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। जिल्ला आयुक्तको कार्यालय काठमाडौँअन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा अमिन (करार) पदमा कार्यरत दिनेशप्रसाद यादवविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगले प्राप्त उजुरीका आधारमा यादवको २०६३ साल भदौ ८ गतेदेखि २०८१ साल असार ३० गतेसम्मको सम्पत्ति र आय–व्ययको अनुसन्धान गर्दा निजले वैध आम्दानीको तुलनामा तीन करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ २१ पैसाको गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गरेको छ । अनुसन्धानमा दिनेश यादवले तलबी पारिश्रमिक, भत्ता, नागरिक लगानी कोष, आवास कर्जा, कृषि आम्दानी, सवारी र अचल सम्पत्ति बिक्री, सापटी तथा बैंकको ब्याजबाट कुल २ करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ ३० पैसाको वैध आय गरेको देखिएको छ । तर, सोही अवधिमा उनले घर निर्माण, गहना, जग्गा खरिद, सवारी साधन, शैक्षिक खर्च, ऋण सापटी, सामाजिक खर्चलगायत शीर्षकमा कुल ५ करोड ७१ लाख ६६ हजार ३ रुपैयाँ ५१ पैसाको खर्च गरेको देखिएको छ ।
निजको आयभन्दा व्यय अत्यधिक भएको र सो गैरकानूनी रुपमा आर्जन गरिएको सम्पत्ति भएको पुष्टि भएको आयोगले जनाएको छ । त्यसैले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) अनुसारको कसुरमा दोषी ठहर गर्दै दफा २०(२) बमोजिम सजाय माग गरिएको छ । सो गैरकानूनी सम्पत्तिबाट आर्जन भएको रकम र त्यसबाट बढाइएको सम्पत्ति दिनेश यादवले आफ्नी श्रीमती अमृता कुमारी यादवको नाममा राखेको देखिएको हुँदा अमृता कुमारी यादवलाई पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार ऐन, २०४८ को दफा २९ ’ख’ बमोजिम प्रतिवादी बनाई सम्पत्ति जफतका लागि मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।