ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्व : राष्ट्रपति


१२:५९ बजे

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्द्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन् । 

पाटन दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको श्री देगुतलेजु मन्दिर उद्घाटन तथा शिलापत्र अनावरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा नागरिकस्तरको सचेतना, जागरुकता र चासो उत्तिकै आवश्यक रहेको पनि बताए । ‘भावी सन्ततिका लागि यी अमूल्य सम्पदा हाम्रो समय, इतिहास र पूर्खालाई बुझ्ने महत्वपूर्ण कडी हुन् । देशका यस्ता महत्वपूर्णस्थलको संरक्षण र संवद्र्धन गरी पूर्खाको मेहनत, परिश्रम र चिनोको रुपमा रहेका कैंयौँ सम्पदाको संरक्षण हाम्रो साझा दायित्व हो’, राष्ट्रपति पौडेलले भने ।

उनले अनुपम भौगोलिक विविधताको सुन्दर देश नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्रकृतिको बरदानका रुपमा कैयौं रमणीयस्थल रहेको उल्लेख गर्दै अनगिन्ति मठमन्दिर, शक्तिपीठ, देवस्थल र तीर्थस्थल नेपालीको सभ्यता, संस्कृति तथा राष्ट्रिय गौरवसँग जोडिएको बताए ।

राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिकास्थित विश्व सम्पदा सूचीभित्र पर्ने पाटन दरबार क्षेत्रको यो एउटा बहुमूल्य सम्पदा भएको उल्लेख गर्दै स्वदेशी विदेशीको प्रमुख पर्यटकीय गन्तव्य यहाँका सम्पदाले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको बताए । देशभर रहेका हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा नेपाल र नेपालीको शान र पहिचान भएको उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले गोरखा भूकम्पमा क्षतिग्रस्त ऐतिहासिक सम्पदाको पूर्ववत्स्वरूप र संरचनामै पुनर्निर्माण तथा जीर्णोद्वार चुनौतीपूर्ण हुँदाहुँदै मन्दिर पुनर्निर्माणले पाएको सार्थकताले यहाँको शोभा र सौन्दर्य बढाएको उल्लेख गरे । त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सम्पदा, संस्कृति संरक्षणमा ललितपुरले गरेको चुनौतीपूर्ण कामको प्रशंसा गर्दै गौरव गर्न लायक सम्पदाको संरक्षण र सम्वद्र्धनमा उत्कृष्ट काम गरेको धारणा राखे ।

उनले पुरातात्विक संरचनामा कुनै पनि सम्झौता गरी इतिहासलाई कायम राख्दै १० वर्षको अन्तरालमा यो सम्पदा पुनर्निर्माणमा जापानको सहयोग र स्थानीयको समर्पण महत्वपूर्ण रहेको बताए। उनले नेपालको विविधतापूर्ण संस्कृति र प्रकृतिलाई जोगाउनु हामी सबैको कर्तव्य भएको बताए । उनले यसलाई प्राथमिकता दिएर विश्वसामु परिचित गराउँदै नेपाललाई खुला सङ्ग्रहालयका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । 

नेपालका लागि जापानी राजदूत माएदा तोरुले अन्तर्राष्ट्रिय समुदायको निरन्तर सहयोग र नेपालीहरुको अथक प्रयासले भूकम्पले क्षति पुर्‍याएको सम्पदाको पुनर्निर्माण सफल भएको बताए । उनले यो मन्दिर नेपाल र जापानबीचको मित्रताको रुपमा चीरकालसम्म निरन्तरता रहोस् भन्ने शुभकामना व्यक्त गरे ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुरातात्विक सम्पदाहरुको ऐतिहासिक महत्वलाई पुरानै स्वरुपमा कायम राखेर निर्माण गर्न स्थानीयलाई जिम्मेवारी दिएर उपभोक्ता समितिमार्फत सम्पन्न गरेको जानकारी गराए। विसं २०७२ को भन्दा ठूलो भूकम्प आउँदा पनि अहिले पुनर्निर्माण गरिएका सम्पदा सुरक्षित रहने विश्वास व्यक्त गरे । देगुतलेजु मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष किरणमान प्रधानले २०७२ को भूकम्पले क्षति पुर्‍याएको मन्दिर पुनर्निर्माण गर्ने चुनौतीपूर्ण कार्यको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिएको जानकारी गराए । उनले यो महत्वपूर्ण ऐतिहासिक सम्पदाको पुनः निर्माण गरेर भावी पुस्ताको लागि काम गरेको धारणा राखे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७