भलिबलको साख फर्काउने चाहनामा कप्तान अरुणा


१३:२६ बजे

कास्की । राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले पोखरा–३ नदीपुरमा एलिट भलिबल एकेडेमी सञ्चालन गरेकी छन् । सो एकेडेमीमा महिला खेलाडीलाई नियमित प्रशिक्षण प्रदान गरिँदै आइएको छ। एकेडेमीबाट क्षमतावान् महिला भलिबल खेलाडी उत्पादन गरेर विगतको गण्डकीको भलिबलको साख फर्काउने चाहना अरुणाको छ।

एकेडेमी चलाउनका लागि भने आर्थिक रूपमा समस्या भएकाले स्रोत जुटाउनका लागि यही चैत २९ देखि वैशाख १ गतेसम्म प्रथम एलिट कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी गरिएको छ । एकेडेमीमै हुने प्रतियोगिताबाट खेलाडी उत्पादनमा टेवा पुग्ने राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान एवं एकेडेमीकी प्रशिक्षक शाहीले बताइन्। 

प्रतियोगिता संयोजक समेत रहेकी अरुणाले प्रतियोगिताबाट बचत रकम महिला खेलाडी उत्पादनमा खर्चिने बताइन् । उनले भनिन्, ‘प्रतियोगिताबाट आएका उत्कृष्ट खेलाडीलाई पठनपाठनमा छात्रवृत्तिसँगै निःशुल्क प्रशिक्षण गराउनेछौँ । त्यसले भविष्यमा खेलाडी उत्पादनमा टेवा पुग्ने हाम्रो विश्वास छ ।’ एकेडेमीले उत्कृष्ट दुई महिला खेलाडीलाई पठनपाठनसँगै निःशुल्क प्रशिक्षण गराउने जनाएको छ।

विशेष गरी महिला भलिबल खेलाडी उत्पादन गर्ने लक्ष्य एकेडेमीको रहेको शाही बताउँछिन्। ‘पुरुषभन्दा पनि महिला खेलाडी उत्पादन गर्नु हाम्रो एकेडेमीको लक्ष्य हो । कसरी हुन्छ, पहिलाको जुन साख छ पोखरा र गण्डकीको त्यसलाई उजागर गर्ने हाम्रो उद्देश्य हो’, शाहीले भनिन् । प्रतियोगितामा पुरुषतर्फको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । महिलातर्फ विजेतालाई रु ५० हजार र उपविजेतालाई रु २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सर्वोत्कृष्ट पुरुष खेलाडीले रु पाँच हजार र सर्वोत्कृष्ट महिला खेलाडीले रु तीन  हजार प्राप्त गर्नेछन्।

विधागततर्फ उत्कृष्ट हुने पुरुष खेलाडीलाई समान रु दुई हजार र महिलातर्फ समान रु एक हजार ५०० प्रदान गरिनेछ। पुरुषतर्फ दर्ता शुल्क रु छ हजार ५०० र महिलातर्फ रु तीन हजार ५०० तोकिएको छ । दुवैतर्फ टिममा सातौँ, आठौँ र नवौँ राष्ट्रिय खेलकुद र अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भएका बढीमा दुई जना खेलाडी समावेश गर्न पाइने प्रतियोगिता संयोजक शाहीले बताइन्।

हालसम्म पुरुषतर्फ नौ र महिलातर्फ सात टोलीले नाम दर्ता गराएको खेल संयोजक तथा एकेडेमीका प्रशिक्षक मलिन रोकाले जानकारी दिए । महिला भलिबलका कप्तान शाहीसहित तीन जना मिलेर नदीपुरमा एलिट भलिबल एकेडेमी सञ्चालन गरेका छन् । उनीहरूले महिला खेलाडीलाई नियमित प्रशिक्षण गराउँदै आएका छन्। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७