सीके राउत भन्छन्–संघीयता र अधिकार गुम्ने चिन्ताले मोर्चा बनायौं

सप्तरी । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले यथास्थितिवादी र प्रतिगामी शक्तिबीच आन्दोलन चलिरहँदा संघीयता र अधिकार गुम्ने खतरा देखेपछि ‘संघीय लोकतान्त्रिक मोर्चा’ बनाउन बाध्य भएको बताएका छन् ।
आज (शुक्रबार राजविराज नगरपालिका–१० दिघवास्थित ‘प्रादेशिक स्पेस एन्ड कम्युनिकेसन रिसर्च सेन्टर, कल सेन्टर र इन्नोभेसन सेन्टर’ को भवन शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष राउतले संघीयताको बारेमा कसैले नबोल्ने गरेको लगाए।
‘यथास्थितिवादी र प्रतिगामी गरी दुई वटा शक्तिबीच आन्दोलन चलिरहँदा हामीले पाएको अधिकार गुम्ने खतरा देख्यौं,’ उनले भने, ‘एउटा पक्षले गणतन्त्रलाई रक्षा गर्ने भन्छन् भने अर्कोले राजतन्त्र ल्याउने कुरा गर्छन् । तर संघीयताको विषय के हुने भनेर कसैले बोल्दैनन् ।’
संघीयता गुम्ने चिन्ताले पृथक मोर्चा बनाएको उनले दाबी गरे । ‘संघीयतासँगै धर्मनिरपेक्षता, समानुपातिक समावेशीतालगायतका अधिकार खोसिने चिन्ता लागेर नै पृथक मोर्चा बनाउन बाध्य भयौं,’ उनले भने, ‘यो मोर्चा चुनावी प्रयोजनका लागि नभए पनि लामै जाने विश्वास छ ।’ एक करोड १७ लाख २६ हजार ३ सय १२ रुपैयाँको लागतमा सो स्पेस एन्ड कम्युनिकेसन रिसर्च सेन्टरको भवन निर्माण हुन लागेको हो ।