पर्साको बाल सुधार गृहमा ‘तनाब’

पर्सा । बालसुधार गृह पर्सामा रहेका बालकले सुधार गृहमा आधारभूत आवश्यकता समान नभएको भन्दै आज केही समय प्रदर्शन गरेका छन् । सुधार गृहमा खानेपानीको व्यवस्था, गर्मीयाममा बिग्रिएका पङ्खाको मर्मतसम्भार र शौचालयको उचित व्यवस्थापनलगायत स–साना २२ बुँदे माग राखेर मंगलबार केही समय प्रदर्शन गरेका हुन् ।
बालबिज्याइँ गरेर सुधारगृहमा रहेका रहेका एक बालकले सुधारगृह प्रशासनले गर्मीयाममा बिग्रिएका पङ्खा तथा कुलर समेत मर्मत सम्भार नगरेर बेवास्ता गरेको आरोप लगाए । ‘५० जना क्षमता भएको बालसुधार गृहमा एक सय २७ जना बस्दै आइरहेका छौँ । यसमा पनि गर्मीयाममा शुद्ध खानेपानीको समेत चर्काे अभाव खेप्दै आइरहेका छौँ’, बालसुधार गृहका एक बालकले भने, ‘हामीले बालसुधार गृहसँग ठूलाठूला माग पनि राखेका छैनौँ । गर्मीयाम बढेका बेला बिग्रिएको पङ्खासमेत मर्मत गरिदिनुस् भन्दा पनि बेवास्ता गरेपछि प्रदर्शन नगरेर के गर्ने !’
बालसुधार गृहमा रहेका अर्का बालकले नेपालगञ्ज, नुवाकोटलगायत बालसुधार गृहमा राम्रो खालको सेवा सुविधा भए पनि पर्सामा भने हालत खराब भएको गुनासो गरे । ‘हामीले जायज माग शान्तपूर्वक बालसुधार प्रशासनलाई भन्दा कहिल्यै पनि सुनुवाइ भएन । त्यसैले आज केही चर्काे स्वरमा बाध्य भएर केही समय विरोध जनाएका हौँ’, उनले भने, ‘बालसुधार गृहमा अनुगमन र निरीक्षण गर्न आउने सरकारी वकिल कार्यालय तथा न्यायाधीशहरूले पनि ठूलाठूला आश्वासन दिएर जाने तर, हाम्रो मागको सम्बोधन नगर्ने परिपाटीले पनि प्रदर्शन गर्न परेको हो । पूरा नगर्ने हो भने हामीलाई आश्वासन नदेखाइयोस् ।’
बालसुधार गृहमा रहेका बालकले शौचालयको ढोका मर्मत सम्भार गर्नुपर्ने, मेसको ढोका मर्मतसम्भार गर्नुपर्ने, ग्यास फ्यान राख्नुपर्ने, पङ्खाको बोर्ड फेर्नुपर्ने, विद्युतको बल्ब फेर्नुपर्ने, कापीकलम शैक्षिक सामग्री उपलब्ध गराउनुपर्ने, डस्टबिन राख्नुपर्नेलगायत सामान्य खालका माग राखेका छन् । बालसुधार गृहमा रहेका अर्का बालक आफूहरूले रू १० हजार संकलन गरे कराई खरिद गर्नका लागि रकम दिए पनि प्रशासनले सो खरिद गरेर समेत नल्याइदिएको गुनासो गरे। बालसुधार गृहका बालकले बालसुधार गृहमा कक्षा ८ देखि १२ कक्षाका विद्यार्थीहरूलाई अध्ययन गर्नका लागि शिक्षकको अभाव भएको पनि गुनासो गरेका छन् ।
‘बालसुधार गृहमा आफ्नो अध्ययनलाई अघि बढाउन चाहने धेरै छौँ’, उनले भने, ‘सुधारगृह प्रशासनले शिक्षकको पनि व्यवस्था गर्न सकिरहेको छैन ।’ सुधार गृहमा रहेका बालबालिकाले जापनिज, कोरियन, अङ्ग्रेजीलगायत भाषाको कक्षा सञ्चालन गर्न अनुरोध गरेका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्याल बालसुधार गृहमा रहेका बालकले उठाएका खानेपानी र पङ्खाको समस्यालाई दातासँग समन्वय गरेर एक साताभित्रै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘तपाईले उठाउनु भएको कतिपय आधारभूत आवश्यकताको जायज मागहरूलाई सम्बोधन गर्नेछु’, उनले भने, ‘बालसुधार गृहमा प्रदर्शनी गर्ने, तोडफोड गर्ने जस्ता आवाञ्छित गतिविधिले कसैलाई पनि फाइदा गर्दैन । त्यसैले तपाईहरू पनि सभ्य र शान्तपूर्वक बस्नका लागि निर्देश गर्दछु ।’
प्रजिअ अर्यालले बुधबार १०ः३० बजे बालसुधारगृहका प्रशासन तथा बाल सुधारगृहसँग सरोकारवाला निकायसँग बृहत् छलफल गरेर सुधार गृहमा तत्कालै समाधान गर्न सकिने मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै बाल सुधारगृहका बालकहरू शान्त भएका छन् । पर्साका प्रहरी प्रमुख गौतम मिश्रले बालसुधारगृहमा देखिएका जायज मागलाई प्रहरी र प्रशासन मिलेर समाधान गर्ने बताउँदै बाल सुधारगृहमा अराजकता र उदण्डता नदेखाउन अनुरोध गरे ।
‘तपाईहरूले शान्तपूर्वक माग राख्नु भयो । त्यस्ता खालका मागलाई हामीले सकेसम्म पूरा गर्ने प्रयास गर्नेछौँ’, उनले भने, ‘तपाईहरूलाई सुधार गर्नका लागि ल्याएका हौँ । त्यसैले अर्काे अवाञ्छित खालको अपराध गरेर फेरि थुनामा लैजान नपरोस् ।’ बाल इजलासका क्षेत्रमा काम गर्दै आएकी सुष्मा शर्माले बाल सुधारगृह प्रशासनले अति सामान्य खालका माग पनि सम्बोधन नगर्दा बालकहरू आक्रोशित भएको बताइन् ।
‘बाल सुधारगृह प्रशासनले गर्नसक्ने पनि काम गर्न अलमल गर्दै आइरहेकाले पनि बालकहरूले बाध्य भएर नै प्रदर्शनमा उत्रिनु परेको हो ।’ बाल सुधारगृह पर्साका निमित्त प्रमुख कृष्णप्रसाद साहले आज दिउँसो सुधारगृहका बालकले केही समय प्रदर्शन गरेको बताए । प्रजिअ अर्यालले परवानीपुरमा व्यवस्थित खालको बालसुधार गृहका लागि तीन बिघा क्षेत्रफलको जग्गा खोजी गर्ने काम भइरहेको बताए ।