राप्रपा हिंसाको विपक्षमा छ, वार्ताबाट समाधान खोजौं : अध्यक्ष लिङदेन


२०८१ चैत १५ शुक्रबार १६:१४ बजे

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आज तीनकुनेमा राजावादी आन्दोलनका क्रममा भएको हिंसात्मक क्रियाकलापमा राप्रपाको संलग्नता नभएको दाबी गरेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार र आन्दोलनरत पक्षलाई संयमता अपाउन आग्रह गरेका छन् ।

लिङ्देनले सबै प्रदर्शनलाई शान्तिपूर्ण बनाउनु पर्ने बताए । ‘जसले जे प्रयोजनमा हिंसालाई प्रयोग गरे पनि त्यसको विपक्षमा छ, राप्रपा,’ उनले भने, ‘म आजको घटनाप्रति दुःख व्यक्त गर्दछु ।’ उनले आफ्नो पार्टीका मान्छेहरुको संलग्नता नभएको पनि दाबी गरे । ‘हाम्रो शान्तिपूर्ण प्रदर्शन हो, हाम्रा मान्छेहरु हिंसात्मक प्रदर्शनमा संलग्न छैनन् । त्यसको छानबिन हुनुपर्छ । त्यो सार्वजनिक हुने नै छ,’ उनले भने ।

अध्यक्ष लिङ्देनले प्रदर्शनकारीको मागलाई वार्ता, संवादबाट समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् । ‘सबै प्रकारका प्रदर्शनलाई शान्तिपूर्ण बनाउन, सरकारलाई पनि संयमता अपनाउन र प्रदर्शनकारीको मागलाई राजनीतिक रुपमै सम्बोधन गर्न सरकारसँग माग गर्छु, दमनबाट होइन । वार्ता, संवादबाट समाधान खोज्न सरकारसँग आग्रह गर्छु,’ उनले भने । राजावादीको आन्दोलनका क्रममा आज तीनकुनेमा भएको झडपका क्रममा पत्रकारसहित २ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते छन् । निजी घर, पार्टी कार्यालय र सञ्चारमाध्यमको कार्यालयका भौतिक संरचनामा पनि क्षति पुगेको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७