प्रचण्ड लक्षित ओलीको कटाक्ष : कहाँबाट जोडियो खेतमा पानी लगाउने र बाख्रो किनेको कुरा

‘सशस्त्र युद्ध राष्ट्रिय गल्ती’


२०८१ चैत १४ बिहीबार १०:१६ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आलोचना गरेका छन् । शान्ति प्रक्रिया पूरा गर्ने सम्बन्धमा भएको सहमतिलाई कुलमान बर्खास्ती प्रकरणसँग जोड्न खोजेको भन्दै उनले प्रचण्डको आलोचना गरेका हुन् । संक्रमणकालीन न्यायसम्बन्धी सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यी दुवै फरक विषय भएको बताएका हुन् ।

ओलीले भने, ‘हिजो–अस्ती मैले सुनें, शान्ति प्रक्रियाका लागि छलफल गर्न भनेर बोलाए, अनि सिफारिस समिति बनाएपछि एक जना कर्मचारीले ठिक काम गरेन भनेर निकाले छन्, यस्तो धोका । कहाँबाट जोडियो खेतमा पानी लगाउने कुरा र बाख्रो किनेको कुरा ? अर्कै–अर्कै कुरा हो त शान्ति प्रक्रिया र एउटा कर्मचारीले राम्रो काम गरेन भनेर कारबाही गरेको कुरा । कहाँबाट जोडिन आयो ?’

अर्कोतिर अहिले ननइस्यूहरुलाई इस्यू बनाउन खोजिएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाएका छन् । राजावादी आन्दोलनलाई इँगित गर्दै ओलीले भने, ‘के निकालेको नन इस्यू पनि कसरी निकालेको हो । ६५ सालमा ज्ञानेन्द्र शाहजी घर जानुभो । हामी दुई–चार महिनामा घर फर्किन्छौँ । उहाँ २५० वर्षपछि फर्किनु भएछ । ठूलो कुरै भएन नि ! अहिले यति वर्षपछि कहाँबाट फेरि नन इस्यू‘ पोखराबाट आउनुभो रे, कहाँ दरबार लान्छु भन्या हो ।’ 

‘सशस्त्र युद्ध राष्ट्रिय गल्ती’
प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र द्वन्द्वलाई ‘राष्ट्रिय गल्ती’ को संज्ञा दिएका छन् । ओलीले देशले अनावश्यक हिंसा भोग्नुपरेको टिप्पणी गरेका हुन् ।

माओवादीलाई संकेत गर्दै उनले हिजो गल्ती गरेकामा जनताका अगाडि आत्मालोचक भएर पेस हुनुपर्ने बताए। ‘पीडामा मल्हम लगाउने ठाउँमा किन ग्लोरिफाई गरिरहेका छौँ ? उधुम गरेका थियौँ, राम्रो गरेका थियौँ, यही हो राम्रो’, उनले भने, ‘त्यो एउटा राष्ट्रिय गल्ती थियो, त्रुटि थियो । त्यसलाई सच्याउनु पर्छ ।’ 

ओलीले आगामी दिनमा सोही घटना नदोहोरिने प्रतिबद्धता जनाउनुपर्ने सुझाव पनि दिए । ‘अलिकति रिस उठ्यो भने–फेरि फेरि भन्ने । बिसाएका हौं छोडेका हौं भन्ने यस्तो तरिकाले हुँदैन’ ओलीले भने । उनले शान्ति प्रक्रियाका काम टुंग्याउन समय लम्बिएको गुनासो गरे । ‘लामो समय लाग्यो, नलाग्न पर्ने समय लाग्यो,’ उनी भन्छन्, ‘आयोगहरू सफल हुन सकेनन् । के के आइपर्‍यो, आयोग जानून् । दुर्भाग्यको कुरा हो ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७