तीन अस्पतालबाट मष्तिष्क पक्षघातका बिरामीलाई निःशुल्क औषधि

काठमाडौं । तीन वटा सरकारी अस्पतालबाट मष्तिष्क पक्षघात (ब्रेनस्ट्रोक) भएका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइने भएको छ । अमेरिकी दातृ संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोग र नेपालको ‘वन हर्ट वल्र्डवाइड’ को सहजीकरणमा उक्त औषधि उपलब्ध भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गरी प्रारम्भिक चरणमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालमा यी औषधि उपलब्ध हुने जनाएको छ । औषधि हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मष्तिष्क पक्षघातमा आवश्यकपर्ने महँगो औषधि उपलब्ध गराएकामा संस्थाप्रति आभार व्यक्त गरे । उनले भने, ‘यो औषधि राज्य कोषबाट किनेर आवश्यकपर्नेलाई उपलब्ध गराउन गाह्रो थियो ।आवश्यकताअनुसार अरु अस्पतालमा पनि वितरण गर्ने लक्ष्य छ । दातृ संस्थासँग अरु महँगा औषधि पनि माग गरेका छौँ।’
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा निर्देशक डा. पवनजङ्ग रायमाझीले मष्तिष्क पक्षघातमा अत्यावश्यक र ज्यान जोगाउन सकिने औषधि प्राप्त भएको बताए । उनका अनुसार ८०० भाइल ‘अल्टिप्लेस’ औषधि उपलब्ध भएको छ। उनले भने, ‘मष्तिष्कमा रहेका रक्तनलीमा अकस्मात् रगत जम्दाखेरी मष्तिष्क पक्षघात हुने सम्भावना हुन्छ । यदि यस्तो व्यक्तिमा साढे चार घण्टाभित्र यो औषधि प्रयोग गर्न सकेमा बिरामीको ज्यान जोगिन्छ ।’
डा. रायमाझीका अनुसार यो औषधि एक भाइलमा २० मिलिग्राम हुने र एउटै भाइलको रु ७० हजार पर्दछ । उनले भने, ‘यो औषधि प्रयोग गर्न दक्ष स्वास्थ्यकर्मी (न्युरोलोजिस्ट) को आवश्यकता पर्दछ । त्यसैले सुरुआती चरणमा तीन वटा अस्पतालबाट दिने सोचेका छौँ । पछि आवश्यकताअनुसार सबै प्रदेशका सङ्घीय अस्पतालमा उपलब्ध हुन्छ ।’ उनले यो औषधिलाई स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको ‘कोल्ड चेन’मा २ देखि ८ ‘सेन्टिग्रेड’ मा भण्डारण गरिएको र आवश्यकताअनुसार उपलब्ध गराइने जनाए । नेपालमा एक वर्षमा ३०० देखि ४०० को संख्यामा पक्षघातका बिरामी उपचारका लागि स्वास्थ्य संस्था आउने गरेका छन् ।