इपीजी प्रतिवेदन नेपाल एक्लैले बुझ्ने र कार्यान्वयन गर्ने कुरा होइन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले मात्रै एकतर्फी इपीजी प्रतिवेदन बुझ्ने र कार्यान्वयन गर्ने कुरा नभएको बताएका छन् । प्रतिनिधि सभाको जारी बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले पहिला भारतले बुझेपछि मात्रै नेपालले बुझ्ने जनाएका हुन् ।
‘इपीजीको प्रतिवेदनमा नै पहिला भारतले बुझ्ने, त्यसपछि नेपालले बुझ्ने भनेर उल्लेख गरिएकाले पहिला नेपालले बुझ्न मिल्दैन्,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसमाथि कुटनीति जस्तो संवेदनशील विषयमा दुवै देशले मिलेर काम गर्नुपर्ने भएकाले दुवैको सहमति हुन जरूरी छ ।’
प्रधानमन्त्री ओलीले इपिजी समूहले नै सुरुमा भारतका प्रधानमन्त्रीलाई र त्यसपछि मात्र नेपालका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने समझदारी भएको जानकारी दिए । समझदारीबाट नै समाधान खोजिने भन्दै उनले त्यसले औंल्याउने समस्या एकतर्फले बुझेर र एकतर्फ मात्र कार्यान्वयन गरेर नहुने विषय भएको बताए । ‘समझदारीमार्फत दुवै पक्षबाट यो प्रतिवेदन बुझ्नेतिर हामी लाग्नेछौं’, प्रधानमन्त्री ओलीले भने ।
नेपालको चुच्चे नक्साको विषयमा जवाफ दिँदै उनले इस्वी संवत् १९६२ अघिसम्म नेपालको अधीनमा रहेको भूभागको नक्सा हाल कायम रहेको नक्सा नै यथार्थ भएको बताए । ‘विसं २०१७ अघिसम्म देशको नक्सा अहिलेकै जस्तो थियो, त्यसपछि फेरियो । २०७७ असार ४ गते संविधानको दोस्रो संशोधनमार्फत संविधानको अनुसूची ३ मा रहेको नेपालको निशानाछाप अद्यावधिक गरियो’, प्रधानमन्त्री ओलीले भने ।