लोडसेडिङबारे कुलमान र मन्त्रीको भनाइ बाझियो, यथार्थ बाहिर ल्याऊ : सांसद गैरे


२०८१ चैत ७ बिहीबार १२:०६ बजे
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले देशमा पुनः लोडसेडिङ हुने विषयको यथार्थ बाहिर ल्याउन माग गरेका छन् । आज (बिहीबार) प्रतिनिधिसभा बैठकमा ऊर्जामन्त्री दीपक खड्काले नेपालमा लोडसेडिङ हुन लागेको र लोडसेडिङ हटाएको जस भारतलाई दिनुपर्ने बताएका थिए ।

सांसद गैरेले ऊर्जामन्त्रीको अभिव्यक्तिबारे सरकारले यर्थाथ सूचना दिनुपर्ने माग गरे । ‘नेपालमा लोडसेडिङ हुने कुराको जस भारतलाई दिनुपर्छ भनेर बोलेको सुनेको छु । हिजो पनि मैले त्यहीँ सुनें’, उनले भने, ‘नेपालको बिजुली भारतले किन्छ, भारतको बिजुली नेपालले किन्छ । यो व्यापारको विषय हो ।’

वर्षायामको बिजुली खेर गइरहेको र सरकारले खपतको स्पष्ट योजना ल्याउन नसकेको उनको भनाइ छ । ‘अहिले पनि वर्षामा बिजुली खेर जाने अवस्था छ । अर्कोतर्फ हिजो दुईवटा समाचार आए । मन्त्रीज्यू भन्नु हुन्छ लोडसेडिङ हुन्छ, लोडसेडिङ सुरु भयो’, उनले भने, ‘अर्कोतर्फ कार्यकारी निर्देशक (कुलमान घिसिङ) भन्नु हुन्छ– लोडसेडिङ हुँदैन, ढुक्क भए हुन्छ । यो खालको समाचारहरूले दिन थालेको सन्देश के हो ? के यस्ता कुराहरू शोभायमान छन् ?’
सरकारले आउने समस्यालाई कसरी व्यवस्थापन गर्ने भन्दा पनि भ्रम फैलाउन खोजेको उनको भनाइ छ ।

‘विद्युत् आपूर्ति कसरी व्यवस्थित गर्ने ? आउन सक्ने समस्यालाई कसरी समाधान गर्ने ? अनि जनतालाई आश्वस्त हुने वातावरण कसरी बनाउने ?’, उनले भने, ‘यो खालको द्विविधायुक्त, भ्रमयुक्त समाचार सम्प्रेषण गरेर हामीले छुट पाउँदैनौं । यसतर्फ सरकारको ध्यान जानुपर्छ ।’ सरकारबाटै फरक–फरक सूचना सम्प्रेषण भएको भन्दै उनले वास्तविकता दिन माग गरे । ‘यस्तो गलत र फरक फरक सूचना सम्प्रेषण गर्ने कुरा बन्द होस् । जे वास्तविकता हो र यथार्थ हो त्यो कुरा सम्प्रेषण गर्नुपर्छ’, उनले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७