राप्रपाले भन्यो–राजा आइहाल्दैनन्, नआत्तिनुस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दिपकबहादुर सिंहले अहिले नै राजा आउने डरले नआत्तिन गणतन्त्रवादी दलहरुलाई आग्रह गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले देशमा गणतन्त्र आएको दुई दशक बितिसक्दा पनि राजाले अहिलेसम्म कुनै हस्तक्षेप नगरेको भन्दै सुशासन र समृद्धिका लागि एक पटक मलाई साथ दिनुस् भन्दा यति धेरै आत्तिनु पर्ने कारण नभएको बताएका छन् ।
उनले दलहरुलाई सुध्रिन आग्रह गरे । उनले भने ‘यो देश तपाई हामीले नै मिलेर बनाउने हो । यो देशमा गणतन्त्र ल्याएको तपाईंहरुले नै हो हामीले होइन । राजाले मध्यरातमा जनताको नासो जनतालाई सुम्पिन्छु भन्दै राजगद्धी र राजमुकुट जनतालाई सुम्पिएर हात जोड्दै निस्किएको तपाईहरुले देख्नु भएकै हो । तर, तपाईहरुकै कुकर्मकै कारण देशमा यो अवस्था आएको हो’, उनले भने ।
सिंहले पूर्वराजाले सरकारलाई बेलाबेलामा सुशास र जनतालाई राहत दिन आग्रह गरेर सन्देश दिएको बताए। तर, सरकारले सुध्रिने लक्षण नदेखिएपछि पजातन्त्र दिवसको अवसरमा राष्ट्र र जनता बचाउन एक पटक साथ दिन भनेको उनको भनाइ छ।