समाजवादी मोर्चाले भन्यो–जनताको असन्तुष्टिलाई प्रयोग गरी राजावादी सल्बलाए

‘पूर्व विशिष्टलाई सुविधा थप्ने कानुनको मस्यौदा बेमौसमी बाजा’


२०८१ चैत २ शनिबार २१:५९ बजे

काठमाडौं । समाजवादी मोर्चाले सरकारको गतिहीनताका कारण संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षामा चुनौती देखा परेको बताएको छ । उसले प्रतिगमन र प्रतिक्रियावादीहरुको षड्यन्त्रलाई विफल पार्न जनसमुदायसँग एकजुट हुन अपील गरेको छ ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपालगायतका दल सम्मिलित समाजवादी मोर्चाले सरकारको अलोकतान्त्रिक रवैयाका कारण राजावादी सल्बलाएको आरोप लगाएको छ । यही चैत १५ गते काठमाडौंमा विशाल विरोध प्रर्दशनसहितको जनसभा गर्नेबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा मोर्चा आबद्ध नेताहरूले राज्यसत्ताको बागडोर सम्हालेकाहरूको अलोकतान्त्रिक रवैया र गतिविधिका कारण नेपाली जनताका अधिकार एकपछि अर्को कुण्ठित हुँदै गइरहेका बताए ।

राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना गरिरहेको, भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त बनेको र जनताको जनजीविका कहालीलाग्दो अवस्थामा रहेको मोर्चाले जनाएको छ । सरकार विचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रित बन्दा जनतामा छाएको निराशामा टेकेर राजावादी शक्तिहरू जुर्मुराएको मोर्चाका नेताहरूले बताएका छन् ।

‘सरकार लोकतान्त्रिक मूल्य मान्यताको उपहास गर्दैछ । अध्यादेशमार्फत् सरकार चलाउने, सदनलाई छल्ने र संसद्मा दर्ता भएका महत्वपूर्ण विधेयकहरू नियन्त्रण गरी राख्नेमा उद्धत छ । सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टी र आक्रोश तीव्र रूपमा बढ्दै गएको छ । यसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती  देखा परेको छ’, मोर्चाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।  

संघीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहिनता, सरकारको मानोमानी, देश एवं जनताको हित विपरीतका गलत क्रियाकलापका कारण जनतामा असन्तुष्टि पैदा भएको मोर्चाको भनाइ छ । ‘जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुनस्र्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनर्उत्थानवादी तत्वहरू लागिपरेका छन्। यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु वर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको छ’, विज्ञप्तिमा भनिएको छ ।  

‘पूर्व विशिष्टलाई सुविधा दिने कानुनको मस्यौदा बेमौसमी बाजा’
प्रमुख प्रतिपक्षी दल माओवादीका नेता तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्यका पूर्व विशिष्ट व्यक्तिहरूलाई सुविधा दिनका लागि कानुन निर्माण गर्नुको औचित्य नभएको बताएका छन् ।  समाजवादी मोर्चा, नेपालले शनिबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष दाहालले संसद् र राजनीतिक दलबीच छलफल नभएको बताए ।

‘त्यो मस्यौदा अहिले बेमौसमको बाजा जस्तो किन गरेको होला भनेर हामीले पार्टीभित्र पनि भनिसकेका छौं ।यो अहिले जरुरी कुरा होइन,’ दाहालले भने, ‘यसले प्रतिक्रियालाई जन्म दिने कुरा मात्रै हो, यो अहिलेको आवश्यकता होइन ।’ पूर्व विशिष्टलाई आजीवन सेवा र सुविधा दिनका लागि सरकारले कानुन निर्माण गर्न लागेको भन्ने सार्वजनिक भएको छ । तर, प्रतिपक्षी दलसँग त्यसबारे छलफल नभएको दाहालले बताए । ‘अहिले विशिष्ट श्रेणीलाई के–के दिने भन्नेबारे राजनीतिक दल र संसद्मा पनि छलफल भएको छैन,’ उनले भने।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७