केआईआईटी कलेजका तीन निर्देशक र सुरक्षागार्डलाई धरौटीमा छाडियो

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थीहरुमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पाँच जनालाई धरौटीमा छाडिएको छ ।
केआईआईटी युनिभर्सिटीका तीन निर्देशक र दुई सुरक्षागार्डलाई अदालतले २० हजार धरौटीमा छाड्न आदेश दिएको ओडिसा टीभीले जनाएको छ । युनिभर्सिटीमा आइतबार अपराह्न २० वर्षीया प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् । आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी समेत दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनको मृत्यु भएको थियो ।
यसपछि प्रकृतिको न्याय माग्दै भएको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो । पछि भुवनेश्वर प्रहरीले कलेजको मानव स्रोत विभागका कार्यकारी निर्देशक शिवानन्द मिश्र, प्रशासनका निर्देशक प्रतापकुमार चम्पाठी, होस्टलका निर्देशक सुधिरकुमार राठ, सुरक्षागार्ड रमाकान्त नायक र जोगिन्द्र बेहेरालाई पक्राउ गरेको थियो । नेपाली विद्यार्थीहरूले सीसीटीभी हेरेर आफूहरुलाई दुव्र्यवहार गर्ने अन्य व्यक्तिहरुमाथि समेत जाँच गर्न माग गरेका छन् ।
तर, यहीबीचमा अदालतको आदेशमा पक्राउ परेकाहरु धरौटीमा छुटेका हुन् । ओडिसा प्रदेश सरकारले यो प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाइसकेको छ । अहिले दिल्लीस्थित नेपाली दूतावासबाट दुई जना कन्सुलर समेत नेपाली विद्यार्थीसँग समन्वय गर्न ओडिसामा छन् । यता कलेज फर्किन असुरक्षा महसुस गरेका नेपाली विद्यार्थीहरु पर्साको वीरगञ्ज र झापाको काँकरभिट्टा नाका हुँदै धमाधम फर्किन थालेका छन् । अहिलेसम्म एक सय भन्दा बढी विद्यार्थीहरु यो नाका हुँदै घर फर्किएका छन् ।