बालाजु बाइपास र दक्षिणकालीमा दुई युवक मृत भेटिए
काठमाडौं । काठमाडौंका दुई छुट्टाछुट्टै स्थानमा दुई युवक मृत्त भेटिएका छन् । काठमाडौं महानगरपालिका–१६, बालाजु बाइपासमा एक युवक मृत फेला परेका छन् ।
प्राइम बैंकको पार्किङमा अन्दाजी २५ वर्षीय व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार, हालसम्म मृतकको सनाखत भएको छैन । यद्यपि, उनको राहदानी नम्बर फेला परेकाले आइतबारसम्ममा थप विवरण खुल्ने उनले बताए ।
उनलाई मृत अवस्थामा फेला पारेपछि प्रहरीले आसपासको क्लोज सर्किट (सीसी) टिभी समेत हेरेको थियो । त्यसक्रममा उनी एक्लै आएर बसेको जस्तो देखिएको प्रहरीले जनाएको छ । उनको साथमा कालो झोला र बैशाखी समेत भेटिएको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण जान्न प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ ।
यस्तै काठमाडौंको दक्षिणकाली नगरपालिका–७, मन्दिर क्षेत्र सुधार समितिको परिसरमा पनि शुक्रबार एक जना व्यक्ति मृत फेला परेका थिए । मन्दिर परिसरमा पर्ने फाकु कुलोमा दक्षिणकाली–६, कोटाल बस्ने ३५ वर्षीय गणेश भनिने रमेश घिमिरे मृत फेला परेका हुन् । घिमिरे मृत्युबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । पोष्टमार्टम रिपोर्ट आइनसकेको प्रहरीले जनाएको छ ।