‘लाज शरणम्’ मा धुर्मुसको लुक्सको चर्चा
काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ । यस पोस्टरले चलचित्रका नयाँ क्यारेक्टरलाई रिविल गर्दै दर्शकको ध्यान आकर्षित गरेको छ । पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाललाई प्रस्तुत गरिएको छ ।
विशेष रूपमा पोस्टरमा अभिनेता सीताराम कट्टेल (धुर्मुस) को गेटअप चर्चामा छ । नेताको भूमिकामा रहेका कट्टेललाई दोरा सुरुवाल र ज्वारीकोटमा देखाइएको छ । उनी हात उठाएर अभिवादन गरिरहेका छन्, जसले उनको राजनीतिक चरित्रको संकेत गर्छ ।
धुर्मुसको लुक्सले पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफतव आलमलाई झल्काएको अनुमान गरिएको छ । साथै, पोस्टरमा कफिन बोकेका स्थानीयहरूको दृश्यले चलचित्रको गहिरो कथावस्तु झल्काएको छ । ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको चलचित्र हो । यसमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी)लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका छन् । यसका प्रमुख कलाकारहरूमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बुलगायत छन् । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सहनिर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् । ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने भएको छ । यो चलचित्रलाई यस वर्षकै प्रतिक्षित फिल्ममध्ये एक मानिएको छ ।