‘बीआरआई फ्रेमवर्क’ मा हस्ताक्षर भएका परियोजनाहरूबाट नेपाललाई के–के हुन्छ फाइदा ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणका क्रममा नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।
आज (बुधबार) बेइजिङमा भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरेका हुन् । चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा रहेको तेस्रो दिन यो सम्झौतामा हस्ताक्षर भएको हो । योसँगै बीआरआई कार्यान्वयनमा जानेछ ।
फ्रेमवर्कभित्र विभिन्न १० वटा परियोजना समावेश भएका छन् । जसमा टोखा–छहरे टनेल, हिल्सा–सिमिकोट सडक योजना, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं रेलमार्ग, अमरगढी सिटी हल प्रोजेक्ट, जिलुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारणलाइन, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर र साइन्स म्युजियम, चीन–नेपाल औद्योगिक पार्क दमक र झापा स्पोर्ट्स एन्ड्स एथलेटिक्स कम्पलेक्स छन्
यी हुन् नेपाललाई हुने फाइदा
१. टोखा–छहरे सुरुङमार्ग – काठमाडौँ बाट दुई घण्टाभित्र केरुङ नाकासम्म पुग्न सकिन्छ । चाहेर पनि अब भारतले नेपालमाथि नाकाबन्दी लगाएर गलाउन सक्दैन ।
२. हिल्सा–सिमकोट सडक परियोजना – केरुङ बाहेक चीन जोड्ने अर्को सजिलो नाका खुल्छ, जसले नेपालगन्जलाई पनि चीनसँग सजिलो गरी जोड्छ ।
३. किमाथांका–खाँदबारी सडक र पुल – यसले विराटनगर लगायत पूर्वी नेपाललाई पनि चीनसँग जोड्छ ।
४. जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग – यसले नेपालको तेस्रो मुकुल लगायत अन्तर्राष्ट्रिय कनेक्टिभिटीमा क्रान्ति ल्याउँछ । मुख्य तीनवटा नाकाबाट चीन देखि भारत जोड्ने कामले नेपालको आर्थिक अवस्थालाई चलायमान बनाउँछ ।
५. डडेलधुरास्थित अमरगढी सिटी हल – राजधानी बाहिर पनि सहरी विकासको सम्भावना बढाउँछ ।
६. जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन– यसले नेपालमा उत्पादित बिजुली नकिन्ने र नेपाललाई अप्ठेरोमा पार्ने भारतको अस्त्र समाप्त हुन्छ, नेपालमा उत्पादित बिजुली चीनमा बेच्ने बाटो खुल्छ ।
७. मदन भण्डारी विश्वविद्यालय – प्रविधि र शिक्षामा महत्वपूर्ण जनशक्ति तयार गर्न सहयोग पुग्छ ।
८. काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम – आधुनिक प्रविधिको विकास गरेर जनशक्ति उत्पादन गर्न सहयोग पुग्छ ।
९. दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क – औद्योगिक उत्पादन वृद्धि गर्दै जनशक्ति पलायनलाई रोक्छ ।
१०. झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स – यसले खेलकुद पूर्वाधारको विकास नयाँ ढोका खोल्छ ।