हामी एक किसिमको विद्रोहमै छौं, फेरि लड्ने बेला भएको छ : प्रचण्ड
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रियावादीहरूले गणतन्त्रलाई बिचौलियाहरूको हितका लागि प्रयोग गरिरहेको आरोप लगाएका छन् । आज (बुधबार) काठमाडौंमा आयोजित गणतन्त्र सेनानी सम्मान २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । ‘गणतन्त्र त आयो तर, त्यो गणतन्त्र जनताकै हुन्छ कि हुँदैन भन्ने कुरा महत्वपूर्ण थियो र छ ।
प्रतिक्रियावादीहरूले गणतन्त्रलाई बिचौलियाहरूको हितका निम्ति प्रयोग गर्दैछन् । हामीले त्यसका लागि लड्नु पर्छ । विगत र वर्तमानको आकलन गर्दा फेरि माओवादी जनयुद्धका सहभागीहरू एकताबद्ध हुनैपर्ने आवश्यकता पैदा भएको छ । विभाजनको शृङ्खला रोकेर एकताको शृङ्खला सुरु गर्नेछौँ,प्रचण्डले भने । उनले आफू अगाडि बढि नै सकेको पनि बताए ।
‘म त अगाडि बढि नै सकें कमरेडहरू, अब माओवादी कसैको वैशाखी टेक्दैन, आफै लड्छ । जनताको तागत लिएर सडकमा आएर प्रतिक्रियावादीहरूलाई परास्त गर्छ,’ प्रचण्डले भने । उनले थपे, ‘अहिले प्रतिक्रियावादी र बुर्जुवाहरु सत्तामा छन्, हामी क्रान्तिकारीहरु प्रतिपक्षमा छौं । हामी फेरि एक किसिमको विद्रोहमा छौं । अहिले नयाँ ढंगले हामीले उहिल्यै आंकलन गरेको जस्तै गणतन्त्रमा कसैले रोक्न सक्दैन । हामी माओवादी युद्धका सहभागीहरु सबै एकताबद्ध हुनैपर्ने आवश्यक छ । हामीले विभाजनको श्रृखला रोकेर एकताको बाटोमा अघि बढ्नु पर्नेछ । हामी त्यही गर्दैछौं । अहिले पनि लडाइँ त चलिरहेको छ ।’