क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपी सेनाका भगौडा


२०८१ मङ्सिर १३ बिहीबार १४:३८ बजे

बारा । बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । कुशवाहा हत्याका आरोपी बाराको आदर्शकोतवाल गाउँपालिका–२ का ४१ वर्षीय सुरेन्द्र कुशवाहालाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले पक्राउ गरेको हो ।

सुरेन्द्रले जग्गासम्बन्धी विवादमा हरिभुषणको गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनी नेपाली सेनाका भगौडा तथा गाउँघरमा सबैलाई त्रसित बनाउने चरित्रका व्यक्ति भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् डिएसपी प्रकाश सापकोटाले बताए ।

बाराको आदर्शकोतवाल गाउँपालिका–३, बतरामा उनीमाथि गोली प्रहार भएको थियो । गम्भीर घाइते उनलाई तुरुन्तै बयोधा अस्पताल, वीरगञ्ज लगिएको थियो । त्यसबेला उनले गोली प्रहारमा सुरेन्द्रको संलग्नता रहेको बताएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो । क्याम्पस प्रमुख कुशवाहाको हत्यामा सुरेन्द्रसहित १७ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा चन्द्रमणी प्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अवधलाल कुशवाहा, चुल्हाई भन्ने श्रवण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरी पक्राउ परेका थिए । तीमध्ये राधेश कुमार पटेल र विनोद राउत कुर्मी कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराबाट धरौटीमा छुटेका छन् भने अरु ८ जना पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

उक्त घटनामा प्रयोग भएको पेस्तोल २ थान, गोली ७ राउण्ड, मोटरसाइकल चार थान, मोबाइल चार थान, ल्यापटप २ थान र सिमकार्ड ७ थान बरामद भएको प्रहरीले जनाएको छ । हत्याका मुख्य आरोपी सुरेन्द्रमाथि ज्यान सम्बन्धी र हातहतियार खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता भई प्रारम्भिक सुनुवाइ समेत पुरा भएको डिएसपी सापकोटाले जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७