बाराकाे रामराजा क्याम्पसका प्रमुखको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ


२०८१ मङ्सिर १३ बिहीबार १४:२० बजे

बारा । बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । गएको जेठ ३२ मा भएको कुशवाहा हत्याका आरोपी सुरेन्द्र कुशवाहालाई जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले पक्राउ गरेको हो । उनलाई विराटनगरबाट पक्राउ गरिएको हो । उनलाई सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दैछ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, कुशवाहाले जग्गा सम्बन्धी विवादमा कुशवाहाको गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बाराको आदर्शकोतवाल गाउँपालिका–३, बतरामा उनीमाथि गोली प्रहार भएको थियो । गम्भीर घाइते उनलाई तुरुन्तै बयोधा अस्पताल, वीरगञ्ज लगिएको थियो । त्यसबेला उनले गोली प्रहारमा सुरेन्द्रको संलग्नता रहेको बताएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

सुरेन्द्र क्याम्पस प्रमुख हरिभुषणको हत्याको मुख्य योजनाकार-निर्देशक, हतियार व्यवस्थापक र सुटर रहेको एसपी खड्काले जानकारी दिए । सुरेन्द्रकै योजनामा थप १४ जना परिचालित भई हरिभूषणको हत्या गरेको प्रहरीको अनुसन्धान मिसिलले देखाउँछ । प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको मिसिलमा  खजुरियाका चाँदशी प्रसाद कुशवाहा, चन्द्रमणि कुशवाहा, अबधलाल कुशवाहा, सुमेदप्रसाद कुशवाहा,  आदर्शकोतवाल–३ का चुल्हाई भन्ने श्रवणकुमार शाह, कोहल्वी नगरपालिका–१० बरेवा बस्ने अम्रपाली भन्ने ब्रम्हदेव महरा, करैयामाई गाउँपालिका–७ पिपरा बस्ने मोतिलाल चौधरी र बारागढी गाउँपालिका–५ बस्ने हरिन्दर महरा चमार हत्यामा संलग्न देखिन्छन् । 

त्यसै गरी आदर्शकोतवाल–२ खजुरी कालेजप्रसाद कुशवाहा, जुवेद पासवान, राजकपुर कुशवाहा, सन्नी देवल कुशवाह, र कोहल्वी नपा–१० बरेवा बस्ने हरिन्दर चौधरीलाई प्रहरीले फरारको सूचीमा राखेको छ । हत्यामा संलग्न १४ जनामध्ये कसैको भूमिका हरिभूषण सवार मोटरसाइकलको रेकी गर्ने, हतियार व्यवस्थापन गर्ने, हत्यामा प्रयोग भएको मोटरसाइकल व्यवस्थापनदेखि चालकको भूमिका निर्वाह गर्ने र घटना भइसकेपछि हतियार लुकाउनेलगायत छन् । 

अनुसन्धान मिसिलअनुसार सन्नी देवलको भूमिका योजनामा सामेल हुने र हरिभूषण सवार मोटरसाइकलको निगरानी गर्ने, चन्द्रमणिको भूमिका योजनाकारसँगै हातहतियार व्यवसथापन र हरिभूषणको रेकीगरी सूचना अदानप्रदान गर्ने, कालेजले हतियार व्यवस्थापन गर्ने र मोटरसाइकल चालकको भूमिका निर्वाह गरेको उल्लेख छ । 

त्यस्तै, अवधलालले हत्या योजनामा सामेल हुनुका साथै हरिभूषणको रेकी गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनको घरबाट दुई राउण्ड गोलीसमेत बरामद गरेको थियो । चुल्हाई भन्ने श्रवणकुमारले पनि हतियार व्यवस्थापनमा सहयोग गरेको प्रहरीको अनुसन्धान मिसिलमा उल्लेख छ ।

त्यस्तै, हरिन्दरले घटनामा प्रयोग भएको हतियार र गोली सुरेन्द्रलाई बिक्री गरेको, ब्रम्हदेवले घटना भइसकेपछि हतियार लुकाएर राखेको र योजनामा प्रयोग भएको मोटरसाइकल पछाडि बसेको, हरिन्दरले हतियार बिक्री गरेको, सुमेद र ओमप्रकाशले हरिभूषण सवार मोटरसाइकलको रेकी गरेको अनुसन्धान मिसिलमा उल्लेख छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७