धौलागिरिमा ज्यान गुमाएका पाँच रुसी आरोहीको शव काठमाडौं ल्याइयो


२०८१ असोज ३० बुधबार १८:०३ बजे

म्याग्दी । विश्वको सातौं अग्लो हिमाल धौलागिरि आरोहणका क्रममा ज्यान गुमाएका पाँच रसियन पर्वतारोहीको शव संकलन गरी काठमाडौं ल्याइएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीमा अवस्थित हिमालको ७ हजार १ सय मिटर उचाइमा दुर्घटनामा परी ज्यान गुमाएका पर्वतारोहीको शव सङ्कलन गरी काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

‘घटनास्थलबाट सबै शव हेलिकप्टरमार्फत लगिएको छ, प्रतिकूल मौसमका कारण शव निकाल्न समस्या भइरहेको थियो’ प्रनाउ श्रेष्ठले सुनाए । उनका अनुसार एयर अल्टिच्युडको हेलिकप्टर मार्फत जोखिमपूर्ण स्थानमा रहेका शव शेर्पाको टोलीले सङ्कलन गरेका थिए ।

आइ एम ट्रेकिङ एण्ड एक्सपीडिसनमार्फत धौलागिरि आरोहणका लागि आएका रुसी नागरिक अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको मृत्यु भएको थियो । उनीहरु गत आइतबार दिउँसो ११ बजेदेखि सम्पर्कविहीन थिए । सेभेन समिट ट्रेकका सञ्चालक मिङ्मा शेर्पाको नेतृत्वमा पाँच जना शेर्पाहरूको टोली खटिएका थिए ।

घटनास्थलमा हेलिकप्टर ल्याण्ड गर्न समस्या भएपछि उद्धारकर्ताहरू हेलिकप्टरबाट डोरीको सहायता झुण्डिएर शव भएको ठाउँमा पुगेका थिए । हिमपहिरो, हावाहुरी वा अन्य कुनै कारणले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । आरोहीहरुसँगै पुगेका भालेरी शामालोलाई भने फस्ट क्याम्पबाट उद्धार गरिएको थियो । उनी चौथो क्याम्पसम्म पुगेका थिए । त्यसपछि थप माथि जान सक्ने अवस्था नभएपछि उनी तल झरेर क्याम्पमा बसिरहेका थिए । उद्धारपछि उनलाई काठमाडौं लगिएको छ ।

धौलागिरि हिमालको आरोहणको अन्तिम खुट्किलो तथा चौथो क्याम्पबाट माथिल्लो क्षेत्र अत्यन्त जोखिम उक्त क्षेत्रहरू पर्ने गर्दछ । ८,१६७ मिटर अग्लो धवलागिरि हिमालमा यस वर्ष शरद याममा एक वटा समूहका १४ जना पुरुष पर्वतारोहीले आरोहणका लागि अनुमति लिएकोमा दुई जनाले सफल आरोहण गरेका थिए भने सात जना पर्वतरोहीहरुले बिचमै आरोहण रद्द गरी फर्किएका थिए । गत वर्ष समेत एकजना रसियनको धौलागिरि आरोहणको क्रममा ज्यान गएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७