सिन्धुलीमा उँटले ‘तर्सायो’
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा उँट भेटिएको छ । आज (मंगलबार) बिहान हरिहरपुरको भिमानमा उँट भेटिएको हो । उँट कहाँबाट आयो भन्नेबारे अझै केही खुलेको छैन । उँट भेटिए पनि कहाँबाट आएको भन्नेबारे केही जानकारी नमिलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एवं एसपी गोविन्दले बताएका छन् ।
उँट बस्तीमा देखिएपछि स्थानीय त्रसिएका थिए । उँट हेर्नेहरूको पनि उत्तिकै भीड लागेको छ । उँट विशेष गरी मरुभूमिमा पाइने जनावर हो । उँट हर्नेहरूको पनि उत्तिकै भिड लागेको छ । कतिपयले हालसम्म उँट नदेखेका कारण गाउँमा एकछिन् त्रास छाएको थियो । ‘उँट बस्तीमा देखिँदा केही मानिसमा केहि समय त्रास छायो’, हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बव्रध्वज वाइवाले भने ।
‘हेर्दा अरवियन उँट जस्तो देखिने यो उँट कहाँबाट आएको हो भन्ने एकिन छैन । ‘हामीले वन डिभिजन कार्यालयसँग सम्पर्क गरेका छौं,’ अध्यक्ष वाइवाले भने । उता डिभिजन वन कार्यालय मरिणका वन अधिकृत अभिमन्यु केसीले उँट भेटिएको खबर आएपछि कार्यालयबाट वन कर्मचारी र प्रहरी त्यसतर्फ जाँदै गरेको जानकारी दिए ।
उनले यो नेपालका जंगलमा नपाइने भएकाले भारतबाट ल्याएर कसैले पाल्दै आएको उँट फुत्किएर भागेको हुन सक्ने उल्लेख गरे । ‘यो सुख्खा मरुभुमि क्षेत्रमा पाइने जनावर हो । नेपालका जंगलमा पाँइदैन । भारतबाट ल्याएर तराई तथा चितवनतिर पालेको कसैको फुत्किएर आएको हुन सक्छ । हाम्रो टोली त्यसतर्फ जाँदैछ,’ उनले भने । उँट क्यामेलस प्रजाति अन्तर्गत पर्ने एक खुरधारी तथा स्तनधारी घरपालुवा जनावर हो । यो अरवियन र ब्याकट्रियन गरी दुई प्रजातिका हुन्छन् ।