अर्घाखाँची जीप दुर्घटना : एक जनाको मृत्यु, नौं जना घाइते (नामावलीसहित)
अर्घाखाँची । अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडक अन्तर्गत शितगंगा नगरपालिकाको हिलेखोलामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा नौं यात्रु घाइते भएका छन् ।
छत्रदेव गाउँपालिकाबाट बुटवलका लागि छुटेको लु १ ज ४७६३ नम्बरको जीप आज बिहान शितगंगा–१२ हिलेखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । दुर्घटनामा छत्रदेव–५ टुनिचौरका ६५ वर्षका रामप्रसाद पन्थीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीत सिंह राठौरले बताए ।
दुर्घटना घाइते भएका नौ जनामध्ये छत्रदेव–५ का चुराबहादुर खत्री, सावित्रा विक र दीक्षा पौडेललाई थप उपचारका लागि बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ । अरू घाइतेहरू अनिता परियार र उहाँका २० महिनाका छोरासहित गीता आचार्य, कमला अधिकारी, अनुष्का र विष्णु थापाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यी हुन् घाइते
१. जीप चालक जि.अर्घाखाँची छत्रदेव गा.पा.५ बस्ने वर्ष ४० को चुरा बहादुर खत्रीको दाँया कुम र छातीमा चोट, अवस्था मध्यम। थप उपचारको लागि बुटवल रिफर ।
२. ऐ.ऐ.बस्ने वर्ष ४० की साबित्रा बि.क.को मुख र कुममा चोट। अवस्था मध्यम, थप उपचारको लागी बुटवल रिफर ।
३. ऐ.ऐ.७ बस्ने वर्ष २४ की अनिता परीयारको निधार र हातमा चोट, अवस्था मध्यम ।
४. ऐ.ऐ. बस्ने निज अनिता परीयारको छोरा २० महिनाको प्रयन्स परीयार चोट नभएको ।
५. ऐ.ऐ.८ बस्ने वर्ष ४२ की गीता आचार्यको ढाडमा चोट, अवस्था मध्यम ।
६. ऐ.ऐ. बस्ने पर्ष १७ की दीक्षा पौडेलको टाउकोमा चोट,अवस्था मध्यम । थप उपचारको लागि बुटवल रिफर ।
७. ऐ.ऐ.६ बस्ने वर्ष ४४ की कमला अधिकारीको हातमा चोट, अवस्था मध्यम ।
८. ऐ.ऐ.५ बस्ने वर्ष ७ की अनुष्का पंथीको टाउकोमा चोट, अवस्था मध्यम ।
९. हालसम्म ठेगाना नखुलेको वर्ष २६ की बिष्णु थापाको कान र खुट्टामा चोट, अवस्था मध्यम ।