एक्लो कर्मचारीले धानेको तनहुँको कृषि सामग्री कम्पनी


०१:२६ बजे

तनहुँ । तनहुँको व्यास नगरपालिका–३ तरकारी लाइनस्थित कृषि सामग्री कम्पनी लिमिटेड तनहुँ कार्यालय प्रमुखको भरमा चलेको छ । तीन जिल्ला कार्यक्षेत्र भएको कम्पनी शाखा प्रबन्धक दिनेश शर्माको भरमा चलेको छ ।

कम्पनीमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा एक्लै चलाउनुपर्दा समस्या भएको उनले बताए । दुई जना श्रेणीविहीन कर्मचारीका भरमा आफू एक्लैले कार्यालय सञ्चालन गरिरहेको उनले सुनाए । ‘कुल सात जनाको दरबन्दी रहेको कार्यालयमा चारजनाको दरबन्दी खाली छ’, शर्माले भने, ‘विसं २०७६ देखि विज्ञापन रोकिँदा दरबन्दीको नयाँ कर्मचारी नआउने र भएका कर्मचारी अवकाश हुने भएकाले कार्यालय रित्तिँदै गएको हो ।’

उनका अनुसार कार्यालयमा वरिष्ठ सहायक र सहायक दुई–दुई जना गरी चार दरबन्दी रिक्त छ । एक जनाले मात्र कार्यालय सञ्चालन गर्नुपर्दा आफू कतै जाँदा निमित्त कार्यालय प्रमुखको जिम्मेवारीसमेत दिन नपाएको उनको गुनासो छ । बिदामा बस्नुपर्दा वा नियमित कार्यालय प्रमुखको बैठकमा जाँदा कार्यालय कर्मचारीविहीन हुने गरेको उनले बताए ।

 कार्यालयमा कर्मचारी पदपूर्तिका लागि कृषि सामग्री कम्पनी लिमिटेड प्रधान कार्यालयमा पटक पटक जानकारी गराए पनि पूरा हुन नसकेको उनको भनाइ छ । राजन न्यौपाने सरुवा भएर नवलपुरको कावासोती गएपछि आफू एक्लैले कार्यालयमा धान्नुपर्ने अवस्था आएको उनले बताए । तनहुँ, लमजुङ र गोरखाका किसानलाई मलखाद बिक्री वितरण गर्दै आएको यस कार्यालयमा जनशक्ति अभावले सेवा प्रभावित हुँदै आएको छ । यस कम्पनीले तीन जिल्लामा दुई सय १९ वटा डिलरमार्फत किसानलाई मल बिक्री गर्दै आएको छ ।

विसं २०५२ र २०७३ मा विज्ञापन भई नियुक्त भएका बाहेक हालसम्म नयाँ कर्मचारी आएका छैनन् । विसं २०७६ मा भएको विज्ञापनउपर विवाद भई अदालतमा परेको मुद्दा हालसम्म कायमै छ । विज्ञापन विवादसम्बन्धी अदालतमा परेको मुद्दा विचाराधीन अवस्थामा रहेकाले थप जनशक्ति नियुक्ति प्रक्रिया अवरुद्ध भई दरबन्दीअनुसारको कर्मचारी कार्यालयमा व्यवस्थापन हुन नसकेको शाखा प्रबन्धक शर्माले बताए । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७