जुनियरलाई निर्देशकको जिम्मेवारी, संगीना वैद्यले दिइन् राजीनामा


०५:४८ बजे
फाइल फोटो

 काठमाडौं । वरिष्ठ तेक्वान्दो प्रशिक्षक संगीना वैद्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशकबाट राजीनामा दिएकी छिन् । वैद्यले आइतबार राखेप सदस्यसचिव टंकलाल घिसिङलाई राजीनामा बुझाएकी हुन् । दुई वर्षअघि उपनिर्देशक नियुक्त वैद्यले तालिम विभागमा हालै भएको निर्देशक नियुक्तिमा असन्तुष्टी जनाउँदै राजीनामा दिएकी हुन् ।

राखेपले तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा कराँतेका वरिष्ठ प्रशिक्षक सोभितराज प्रसाईलाई नियुक्त गरेको थियो । उपनिर्देशक हुँदाहुँदै बाहिरबाट ल्याएर निर्देशक बनाइएको र सिनियरलाई अन्याय गरिएको वैद्यले गुनासो गरेकी छन् । ‘उहाँ (शोभितराज प्रसाई) बढुवामा पनि मभन्दा एक वर्षपछि सेकेण्ड क्लास अफिसर हुनु भएको हो । अहिले उपनिर्देशक नहुँदा पनि उहाँलाई सोझै निर्देशक बनाइएको छ । अन्यायमा परेको महसुस भयो’, वैद्यले सुनाइन् ।

बक्सिङ प्रशिक्षक प्रचण्ड शर्माले भदौ अन्तिम साता अनिवार्य अवकाश पाएपछि तालिम तथा प्रशिक्षण विभागमा निर्देशक पद रिक्त थियो । उपनिर्देशक रहेका वैद्य र विष्णुबहादुर सिंहमध्येबाट निर्देशक नियुक्त हुने आँकलन गरिए पनि प्रसाईलाई ल्याइएपछि राखेपका खेल प्रशिक्षकहरुको नेतृत्व गर्ने विभागमा विवाद देखिएको हो ।

२०५२ भदौ ३० गते सरकारी सेवामा प्रवेश गरेकी संगीना त्यसको झण्डै ११ वर्षपछि सेकेण्ड क्लास अफिसरमा बढुवा भएकी थिइन् । जुन उपसचिव सरह हो । २०५० सालमा करार प्रशिक्षकबाट राखेपमा प्रवेश गरेका प्रसाई २०६४ सालमा सेकेण्ड क्लास अफिसरमा बढुवा भएका थिए । प्रसाईले उमेर हदका कारण आगामी चैतमा अवकाश पाउँदैछन् ।

संगीना नेपाली खेलकुदकी कीर्तिमानी खेलाडी हुन् । एसियाली खेलकुद (एसियाड) मा काँस्य पदक जितेकी उनले एसियन च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण जितेकी उनी छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् । हालसम्म तालिम तथा प्रशिक्षण विभागको नेतृत्व महिलाले गरेको छैन ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले भने करारमा जागिर सुरु गर्दा संगीना भन्दा प्रसाईं सिनियर भएको दाबी गरे । उनले भने, ‘संगीनाजीभन्दा प्रसाईजी करारमा जागिर खाँदा सिनियर भएको बुझिएको छ । त्यसैले निर्देशकमा नियुक्ति दिइएको हो ।’ जबकी राखेपको नियुक्तिमा करार वा स्वयंसेवक रहँदा को सिनियर थियो भन्ने हेरिने गरिएको छैन । स्थायी नियुक्तिको आधारमा नै सिनियारिटी हेर्ने गरिएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७