ब्राजिलमा विमान दुर्घटना, सबै ६२ जनाको मृत्यु


२०८१ श्रावण २६ शनिबार ०१:०६ बजे
तस्वीर : एजेन्सी

काठमाडौं । ब्राजिलको साओ पाउलो राज्यमा ६२ यात्रु सवार एक विमान दुर्घटना हुँदा सबै यात्रुको ज्यान गएको छ ।भिओपास एयरलाइन्सको दुई इन्जिन भएको टर्बोप्रोप विमान कास्काभेल सहरबाट साओ पाउलो सहरको मुख्य विमानस्थलतर्फ उडेको थियो ।

तर, विमान साओ पाउलोको भिन्हेडो भन्ने सानो सहरमा दुर्घटना भएको हो । सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त विमान दुर्घटनाको भिडियोहरूमा विमानलाई आकाशबाट घुम्दै तल झर्दै गरेको र त्यसपछि कालो धुवाँको मुस्लो उडेको देख्न सकिन्छ ।

दुर्घटनास्थलमा प्रहरी र अग्नि नियन्त्रकहरू खटिएका छन् भने स्थानीय अस्पतालहरूलाई सतर्क गराइएको छ ।प्रारम्भिक जानकारी अनुसार, विमान आवासीय भवनमा खसेको थियो । स्थानीय अधिकारीहरूले दुर्घटनामा कुनै पनि व्यक्तिको ज्यान जोगाउन नसकिएको पुष्टि गरेका छन् । भालिन्होस नगरपालिकाका अधिकारीहरूका अनुसार, विमानमा सवार ५८ यात्रु र ४ जना चालक दलका सदस्य सबैको मृत्यु भएको छ ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले यस दुखद घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो अत्यन्तै दुःखद घटना हो । पीडितका परिवार र साथीहरूप्रति मेरो हार्दिक सहानुभूति छ ।’ अहिलेसम्म दुर्घटनाको कारणबारे कुनै जानकारी प्राप्त भएको छैन । विमानस्थलमा रहेको टोलीले अनुसन्धान गरिरहेको छ । विमान दुर्घटनाको सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७