एआइजी ज्ञवाली विरुद्ध एकपछि अर्को उजुरी, भेटियो पदको चरम दुरुपयोगको अनेकौं प्रमाण

एआइजी ज्ञवालीमाथि कारबाही निश्चित


२३:५१ बजे


काठमाडौं :  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखबाट प्रदेश समन्वय विभागमा पठाइएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी ) श्यामराज ज्ञवालीमाथि दर्जनौं उजुरीहरु परेको छ । 

गृह मन्त्रालय र प्रहरी हेडक्वाटर स्रोतका अनुसार एआईजी ज्ञवालीले कसुरदारसँग करोडौँ आर्थिक लेनदेन गरेको, सुन तस्करलाई उन्मुक्ती दिएको, सहकारी ठगीको फाइल दबाएको र पदीय दुरुपयोगको प्रमाण सहित एकपछि अर्को उजुरी परेको प्रहरी गृह स्रोतले जनाएको छ । गृहका एक उच्च अधिकारीले भने, ‘ज्ञवालीले प्रहरी अधिकारीको हैसियतमा पदको चरम दुरुपयोग गरेको एकपछि अर्को प्रमाण भेटिएको छ ।’ 
यसैगरी ज्ञवालीमाथि विभिन्न बैंकका कर्जा काण्ड मिलाउने, एलओडी डिस्कोको नावालिका करणी, बालमन्दिरको जग्गा घोटाला, सेन्चुरी बैंकको ठगीलगायत विभिन्न प्रकरणमा लेनदेन गरेको उजुरी प्रहरी प्रधान कार्यालयमा परेको छ । 

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले एआईजी ज्ञवालीलाई हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा कार्यरत एआईजी दीपक थापालाई सीआईबी प्रमुखको जिम्मेवारी दिएको छ ।

मंगलवारको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रमेश लेखकले सीआईबीका तत्कालीन प्रमुख ज्ञवालीको बदमासीको बारेमा संक्षिप्त जानकारी समेत गराएका थिए । गृहमन्त्री लेखकले भनेका थिए, ‘एआइजी ज्ञवालीको बारेमा धेरै गम्भीर प्रकारका घटनामा छानबिन भइरहेको रहेछ । ज्ञवालीले जिम्मेवार प्रहरी अधिकारीको हैसियतमा पदको चरम दुरुपयोग गरेका प्रमाणहरू नै आएपछि छानबिन थालिएको रहेछ ।’

एआइजी ज्ञवालीमाथि छानविनका लागि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एआइजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका छन् । राईको संयोजकत्वमा गठित पाँच सदस्यीय टोलीमा हेडक्वार्टरस्थित अपराध अनुसन्धान विभागका एसएसपी नवीन राई,उजुरी छानबिनका एसपी प्रकाश मल्ल,कानुन हेर्ने डिएसपी रुकबहादुर खड्का र इन्जिनियर डिएसपी मुकेश तिवारी छन् । 

सुन तस्करीको अनुसन्धानमा बदनियत राखेको आरोप लगाउँदै तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सीआईबीबाट एआईजी किरण वज्राचार्यलाई हटाएर चैत पहिलो साता एआईजी ज्ञवालीलाई पठाएका थिए । तर उनले सीआईबीमा बसेर पदको चरम दुरुपयोग गरेको भन्दै तिव्र आलोचना भइरहेको थियो । 

सहकारी ठगीको फाइल दबाएको, सुन तस्करलाई सघाएको, अनुसन्धानको दायरामा ल्याउनुपर्नेलाई उन्मुक्ति दिएको, बाल मन्दिर जग्गा हिनामिना प्रकरणमा संलग्न व्यक्तिहरूसँग नियमित सम्पर्कमा रहेको, बैंकिङ कसुरका व्यक्तिसित शंकास्पद सम्बन्ध रहेको र केही व्यक्तिमाथि अनावश्यक धरपकड गरेको उजुरी उनी विरुद्ध छ । 

बाल मन्दिर जग्गा हिनामिना प्रकरणमा मृतकका नाममा पनि अदालतबाट पक्राउ पुर्जी जारी गराएको, बाल मन्दिर प्रकरणसँगै जोडिएका व्यापारीसँग अस्वाभाविक हिमचिम गरेको, तत्कालीन सेन्चुरी बैंकको कर्जा हिनामिना प्रकरणमा आरोपितहरूसँग ‘नाजायज’ र ‘अस्वाभाविक सम्बन्ध’ राखेको लगायत विषयमा छानबिन गर्न समिति गठन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

स्रोतका अनुसार ज्ञवालीले काठमाडौंको एलओडी क्लबमा भएको एउटा अपराधको अनुसन्धान दबाएको आरोपमाथि पनि छानबिन भइरहेको छ । केही मुद्दाका प्रतिवादीसँग आर्थिक लेनदेन गरेको प्रमाण समेत भेटिएको स्रोतका दाबी छ । 

सुन तस्करी प्रकरणमा फरार रहेका जीवन चलाउने पनि एआइजी  ज्ञवालीले २ करोड मागेको दाबी गर्दै आएका छन् । आईजीपी बन्नलाई आफूसँग ज्ञवालीले २ करोड मागेको र दिन नसकेपछि आफूमाथि साजिस रचिएको आरोप चलाउनेको छ । उनले गृहमन्त्री रवि लामिछाने र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि ज्ञवालीले नै यो साजिसमा खेलाएको आरोप लगाएका छन् ।

चलाउनले भनेका छन्, ‘श्याम ज्ञवालीले चाहिँ आईजीपी बढुवा भन्दा अगाडि मसँग आईजीपी बन्नका लागि २र३ करोड पैसा चाहियो भनेको थियो । पैसा माग्न उसकै घरमा बोलाएको थियो,म उसको घरमा पनि गएको थिएँ । त्यो त मेरो कल डिटेल हेर्दा पनि हुन्छ । ऊसँग मेरो धेरै कुरा पनि भएको छ । त्यसपछि मैले मसँग पैसा छैन दाइ भनेपछि उसले मसँग व्यक्तिगत रिस पहिला पनि राखेको थियो । पहिला पनि मलाई फसाउन खोजेको थियो । पछि उनले डबल गेम खेलेछन् । यता मलाई भाग् नत्र तँलाई फसाउन ठूलो गिरोह लागेको छ, माओवादीले तँलाई फसाउँदैछ भनेर मेरो साथीमार्फत कुरा गरेर मलाई भाग् भने । उता चाहिँ सीआईबीले जीवन चलाउनेलाई भगायो भनेर रवि दाइलगायतका टीमलाई उचालेर सीआईबीबाट पैसा खाएर जीवनलाई भगाइयो भन्ने प्रोपोगाण्डा गरियो ।’ 

प्रहरीमा ‘कू’ प्रयास
ज्ञवाली नारायणकाजी श्रेष्ठ र रवि लामिछाने गृहमन्त्री भएको बेला शक्तिशाली थिए । उनले प्रहरीमा समानन्तर सत्ता नै चलाएका थिए । उनकै योजनामा फागुन २३ मा उपप्रधान एवं गृहमन्त्री नियुक्त भएका रवि लामिछानेले सुरुमै बसन्त कुँवरलाई हटाउने पटक पटक प्रयास भएको थियो । 

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले चैत १ मा बुझाएको प्रतिवेदनलाई आधार मानेर ज्ञवालीकै योजनामा लामिछानेले कुँवरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गर्ने प्रयास गरेका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७