तरकारी खेतीमा ‘तरक्की’ 


२०८१ श्रावण १२ शनिबार १३:३५ बजे

बागलुङ । कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका–९ तित्याङका पदम खत्री यतिबेला तरकारी खेतीमा ‘तरक्की’ गरिरहेका छन् । तरकारी खेतीबाटै स्वरोजगार बनेका उनी जिल्लामा उत्कृष्ट किसानका रुपमा सम्मान समेत पाइसकेका छन् ।

कृषि ज्ञान केन्द्र बागलुङले खत्रीलाई गत धान दिवसमा उत्कृष्ट किसानका रुपमा नगदसहित सम्मान गरेको थियो । घर निर्माणलगायतका काममा मजदुरी गर्ने उनी १५ वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय छन् । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती सुरु गर्नुभएका खत्री यतिबेला जिल्लाकै  सफल किसानका रुपमा परिचित छन् । उनले अहिले १८ रोपनी जग्गामा तरकारी खेती गरिरहेका छन् । उनीसँग फर्ममा आठ वटा साना र ठूला प्लाष्टिक टनेल छन् । 

अधिकांश दौतरीहरु पैसा कमाउन विदेश पलायन भए पनि खत्री भने तरकारी खेतीमै सक्रिय छन् । तरकारी खेतीबाट नाम र दाम दुवै हुन थालेपछि विदेश जाने योजना कहिल्यै नबनेको उनले सुनाए । ‘तरकारी खेतीबाटै वार्षिक रु १० देखि १२ लाखसम्म आम्दानी भइरहेको छ’, उनले भने, ‘तरकारी खेतीबाटै नाम र दाम हुन थालेपछि विदेश जानुपर्ने बाध्यता कहिल्यै आएन ।’ उनले तरकारी खेतीबाटै परिवारको खर्च, बालबच्चाको पालनपोषण भइरहेको बताए । उनले हालसम्म एक दर्जनभन्दा बढी संस्थाबाट प्रोत्साहनस्वरुप पुरस्कार प्राप्त गरिसकेका छन् । 

‘एक रोपनी जग्गाबाट सुरु भएको तरकारी खेती अहिले १८ रोपनीमा पुगेको छ । अहिले दाम मात्रै हैन नाम समेत कमाउन थालेको छु, पहिला वडामा मात्रै कृषक भनेर चिन्थे अहिले जिल्लाभर कृषकको परिचय फेरिएको छ’, उनले भने, ‘पाँच रोपनी आफ्नै र अन्य जग्गा भाडामा लिएर तरकारी उत्पादन गर्दै आएको छु ।’ 

अहिले खत्रीको टनेलमा टमाटर, सिमी, काक्रो, काउली, बन्दालगायतका तरकारी उत्पादन भइरहेका छन् । खत्रीले बेमौसमी तरकारी तथा खुला जग्गामा मौसमी तरकारी खेती गरिरहेका छन् । आठ वटा प्लाष्टिक टनेलमध्ये दुई वटा हाइटेक टनेल र अन्य परम्परागत टनेल रहेको बताउँदै खत्रीले नगरपालिकाको तरकारीखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत आधुनिक टर्नेल निर्माण भइरहको जानकारी दिए । 

खत्री एग्रो फार्ममा हालसम्म रु १२ लाख लगानी गरिसकेका छन् ।  उनले कृषि ज्ञान केन्द्रबाट प्लाष्टिक टनेल निर्माण र विऊ बिजनमा सहयोग प्राप्त भइरहेको जानकारी दिए । हाल उनले तरकारी खेतीसँगै ब्रोइलर कुखुरा र भेडापालन पनि गरेका छन् । उनले एक जनालाई प्रत्यक्ष रोजगारी समेत दिएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७