प्रधानमन्त्री ओली पछि दुई उपप्रधान र १९ मन्त्रीले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा कांग्रेस र एमालेबाट एक-एक जना उपप्रधानमन्त्री बनेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज शितलनिवासमा नव नियुक्त उपप्रधानमन्त्री प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेललाई आज पद तथा गोपनीयताको शपथ गराएका हुन् । सिंह उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री र पौडेल उप्रधानमन्त्री एवं अर्थमन्त्री बनेका छन् ।
त्यसपछि बाँकी १९ जना मन्त्रीको शपथ ग्रहण गराइएको हो । उनीहरू सबैले आजै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नेछन् । संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति पौडेलले ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका थिए ।
समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल र डा. बाबुराम भट्टराई, विभिन्न राजनीतिक दलका नेताहरु, सांसदलगायत सहभागी थिए ।