सिक्लेस र घान्द्रुक घुम्न जाँदै हुनुहुन्छ ? पहिला यी जानकारी लिनुस्


२०८० मङ्सिर ३ आइतबार १४:२९ बजे

कास्की । दसैँ, तिहार सकिएलगत्तै कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेस पुग्ने पर्यटकको संख्या ह्वात्तै बढेको छ । जसका कारण स्थानीयलाई गाउँ पुगेका पर्यटक व्यवस्थापन गर्न भ्याइनभ्याइ छ ।

पछिल्ला समय पोखरा घुम्न आएका पर्यटक लेकसाइडमा मात्र सीमित हुन चाहँदैनन् । वरपरका गाउँबस्ती र थुम्का उनीहरुको रोजाइमा पर्ने गरेको छ । सोही कारण कास्कीका पर्यटकीय गाउँहरुमा ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं १० र ११ मा पर्ने घान्द्रुकमा शुक्रबार दुई हजारभन्दा बढी पर्यटक पुगेको घान्द्रुक पर्यटक व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । उनका अनुसार शनिबार पनि दुई हजारकै हाराहारीमा पर्यटक पुगेका छन् ।

‘पछिल्लो हप्ता घान्द्रुकमा पर्यटक पूर्णरुपमा भरिएका (हाउसफुल) नै भएको थियो’, अध्यक्ष गुरुङले भने, ‘धेरै हुँदा हामीलाई व्यवस्थापन गर्न हम्मेहम्मे पर्छ । पाहुनालाई हामीले फर्काएका छैनौँ ।’ घुमघामको सिजनमा यहाँ आउँदा यहाँको बासस्थान, मौसमी अवस्थालगायत आवश्यक विषयमा जानकारी लिएर मात्र आउन उनले सबैलाई आग्रह गरे ।

‘घुम्न आएका पाहुनालाई बास छैन भनेर फर्काउन पनि भएन् । हामीले मिलाएर त राखेकै छौँ’, अध्यक्ष गुरुङले भने, ‘पाहुनाको सुविधाका लागि उहाँहरु आफैँले सिजनको समयमा हामीसँग समन्वय गरेर आउनु भयो भने राम्रो हुन्थ्यो ।’ उनका अनुसार घान्द्रुकमा पर्यटक राख्नका लागि ५५ होटल र २२ होमस्टे छन् ।

पाहुना बढी भएको अवस्थामा गाउँका घरमा व्यवस्थापन गर्न सकिने अध्यक्ष गुरुङको भनाइ थियो । होटल, होमस्टे र घरमा गरी घान्द्रुकमा एक दिनमा दुई हजार दुईसम्म पाहुन राख्ने क्षमता रहेको उनले जानकारी दिए । कास्कीकै मादी गाउँपालिका–१ मा पर्ने पर्यटकीय गाउँ सिक्लेसमा पनि पर्यटकको चाप बढेको छ । दसैँ, तिहार सकिएसँगै सिक्लेसमा दैनिक पाँचदेखि छ सयको हाराहारीमा पर्यटक पुग्ने गरेका मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । सिक्लेस हुँदै क्हपुचें हिमताल र कोरी डाँडा जाने पर्यटकका कारण पनि यहाँ पर्यटकको चाप बढेको उनले बताए ।

वडाध्यक्ष गुरुङले पर्यटकको संख्या बढी हुँदा व्यवस्थापनमा गाह्रो हुने भएकाले सामाजिक सञ्जालमार्फत जानकारी दिएर आउन आग्रह गरे । ‘सिक्लेसमा आउने आन्तरिक पर्यटकको चाप बढ्दो छ । कतिपय पर्यटक गाउँमा आइसकेपछि बस्नलाई समस्या भएको गुनासो आइरहेको छ’, उनले भने, ‘तसर्थ गाउँमा आउनुभन्दा अगावै बस्न चाहनुभएको होटल-होमस्टे सञ्चालकसँग सम्पर्क गरेर मात्र आउनुहुन अनुरोध छ ’ साथै, क्हपुचें र कोरी ट्रेकका लागि सम्बन्धित होटल सञ्चालकसँग सम्पर्क गरेर आउँदा असहजता नआउने उनको भनाइ थियो । रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७