सूर्यको अध्ययन गर्न भारतले आज अन्तरिक्षमा यान पठाउँदै


००:०४ बजे

नयाँदिल्ली । भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक यान अवतरण गराउने पहिलो देश बन्न सफल भएको एक हप्तापछि नै सूर्यको अनुसन्धान गर्न अन्तरिक्ष यान पठाउन तयारी गरेको छ ।

आज (शनिबार) स्थानीय समयअनुसार बिहान ११ बजेर ५० मिनेटमा आदित्य एल–१ यान अन्तरिक्षमा पठाउने भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले जनाएको छ । भारतको चेन्नईबाट एक सय किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटमा रहेको अन्तरिक्ष यान प्रक्षेपणस्थलबाट यानलाई अन्तरिक्षमा पठाइने इसरोले जनाएको छ ।

अन्तरिक्षमा पठाइने यान सूर्यमा पुग्ने नभई पृथ्वीबाट १५ लाख किलोमिटर टाढा पुग्नेछ । त्यो दूरी पृथ्वी र चन्द्रमा बीचको दूरीभन्दा झण्डै चार गुणाले बढी हो । तर त्यो पृथ्वीबाट सूर्यसँगको दूरीको चाहिँ एक प्रतिशत मात्रै हो । सूर्य पृथ्वीबाट १५ दशमलव एक लाख किलोमिटर टाढा छ । यान पुग्ने भनिएको ठाउँबाट सूर्यलाई निरन्तर रूपमा स्पष्ट देखिने इसरोले जनाएको छ ।

अभियानले अन्तरिक्षको मौसम केले सञ्चालन गर्छ भन्नेबारे अध्ययन गर्नेछ । यानले सौर्य आँधीको प्रक्रियाका बारे पनि थप धेरै बुझ्ने प्रयास गर्नेछ । एक पटक स्थापित भइसकेपछि यो अन्तरिक्ष यानले सूर्यलाई निरन्तर स्पष्ट रूपमा अवलोकन गरिरहन सक्नेछ ।

यो अन्तरिक्ष यान पाँच वर्षभन्दा बढी समयका लागि अन्तरिक्षमा रहने गरी बनाइएको इसरोले जनाएको छ । भारतीय सरकारले सन् २०१९ मा यो परियोजनालाई स्वीकृत गरेको थियो । यसको लागत झन्डै चार करोड ६० लाख डलर लागेको जनाइएको छ । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७