कोशी सरकार फेरि संकटमा : सोमबारको वैठकमा नआउने एमाले र राप्रपा सांसदको सूचना
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत माग्न भोलि कोशी प्रदेशसभाको बैठक बस्दै छ । सरकारका मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिने भएपछि विपक्षी दलहरु नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने आफ्ना सांसदहरुलाई अनुपस्थित गराउने रणनीति बनाएका छन् ।
दुवै विपक्षी दलहरुलाई पत्र लेख्दै थापाले आइतबार विश्वासको मत मागिरहँदा राप्रपाले आफ्ना सबै सांसदलाई विश्वासको मतका दिन प्रदेशसभामा अनुपस्थित गराउने तयारी गरेको हो । विपक्षी दलको यस्तो तयारीले थापा नेतृत्वको कोशी सरकार फेरि संकटमा परेको छ ।
९२ सदस्यीय कोशी प्रदेशको अंक गणित निकै अप्ठ्यारो रहेकाले भोलि के हुन्छ भन्ने चासो राजनीति वृतमा बढेको छ । सत्ता गठबन्धनसँग स्पष्ट बहुमत ४७ सदस्य रहे पनि बैठकको अध्यक्षता कसले गर्छ भन्ने विषयले कोशीको गणितलाई सकसपूर्ण बनाएको छ । प्रदेशसभाको सोमबारको बैठकमा अनुपस्थित हुन पार्टी अध्यक्ष राजेन्द्र लिङदेन र संसदीय दलका नेता भक्ति सिटौलले सांसदहरुलाई निर्देशन दिइसकेका छन् ।
जसको पुष्टि कोशी प्रदेशमा राप्रपा सांसद प्रेमराज थामसुहाङले गरेका छन् । उनका अनुसार सोमबारको बैठकमा सबै ६ सांसदलाई अनुपस्थित हुन निर्देशन आइसकेको छ । अहिले पनि एमालेसँगै प्रतिपक्षमा रहेको राप्रपाले कुनै हालतमा थापाको सत्ता लम्बिन नदिने रणनीति बनाएको छ ।
त्यही कुराको पुष्टि शनिबार राप्रपा अध्यक्ष लिङ्देनले गरिसकेका छन् । उनले आफ्नो गृह प्रदेश समेत रहेको कोशीमा सत्ता गठबन्धनले राप्रपाका सांसद किन्न खोजेको बताएका थिए । सभामा अहिले सभामुख पद खाली छ । सभामुख दिन सत्ता गठबन्धन तयार भए राप्रपाले सरकारलाई समर्थन गर्ने संकेत देखिएको छ । राप्रपाका एक नेताले त्यसको जनाउ दिएका छन् । राप्रपासँग ६ सिट छ । सत्ता गठबन्धनको ४७ सिट छ । ९२ सदस्यीय प्रदेशसभामा राप्रपाले सहयोग गरे मुख्यमन्त्री थापाले सहजै विश्वासको मत पाउने छन् ।
सरल रुपमा राजनीतिक गतिविधि अगाडि बढे सभामुख नभएकाले उपसभामुख सिर्जना दनुवार ले सभाको अध्यक्षता गर्नुपर्ने हो । तर, राजनीतिक दाउपेचका कारण उनले अध्यक्षता नगर्ने सम्भावना बढेको छ । किनकी उनी प्रतिपक्षी दल नेकपा एमालेबाट निर्वाचित हुन् । उपसभामुखले बैठकको अध्यक्षता नगरे ज्येष्ठ सदस्यले अध्यक्षता गर्नुपर्ने हुन्छ ।
केही गरी सत्ता गठबन्धनका सांसदले बैठकको अध्यक्षता गर्नुपर्ने अवस्था आए मुख्यमन्त्री थापाले विश्वासका मत पाउने छैनन् । त्यसैले प्रतिपक्षी दल नेकपा एमाले यही अवस्था बनाउने रणनीतिमा रहेको छ । यसरी कोशीको राजनीति सरल रुपमा अगाडि बढ्ने सम्भावना भने कम देखिएको छ । तर थापाको सरकार ढलेपछि आफूले पनि सरकार बनाउन नसक्ने देखिएकाले एमालेले थापालाई विश्वासको मत दिने सम्भावना पनि रहेको कतिपयको भनाइ छ ।
तर भोलिको बैठकमा उपस्थित हुन नसक्ने भन्दै एमालेका सांसदहरू रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, किशोरचन्द्र दुलाल र ज्ञानेन्द्र सवेदीले प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका छन् । यस्तै राप्रपाका अम्बरबहादुर बिष्ट र गोपालबहादुर विश्वकर्माले संसदमा उपस्थित हुन नसक्ने भन्दै निवेदन दिएका छन् । उनीहरू अनुपस्थित भए सत्ता गठबन्धनकै सांसदले बैठकको अध्यक्षता गर्नुपर्ने अवस्था आउनसक्छ । तर यसमा उपसभामुख दनुवारको भूमिका के हुन्छ त्यो पनि महत्वपूर्ण छ ।