कोपभाजनमा एआईजी राई : १९ वर्ष स्पाई,सेवा अवधिभर तेश्रो पटक मात्रै पाएको इन्चार्जबाट पनि हटाइदै


२०८० श्रावण ३० मंगलबार १४:४१ बजे

काठमाडौं : आफूलाई अन्यायपूर्वक तरिकाले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) हटाउने तयारी गरिएपछि नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजीपी) टेकप्रसाद राई असन्तुष्ट बनेका छन् । स्रोतका अनुसार एकेडेमीबाट हटाउने तयारी थाहा पाएपछि एआईजीपी राईले आईजीपी वसन्त कुँवरलाई फोन गरेर असन्तुष्टि पोखेका छन् ।

सेवा अवधिभर तेश्रो पटक मात्रै इन्चार्जको जिम्मेवारी पाएका एआईजी राईलाई एकेडेमीबाट निकालेर कार्य विभागमा थन्क्याउने तयारी गरिएपछि आईजीपी कुँवरलाई फोन गरेर राईले तिव्र असन्तुष्टि पोखेको स्रोतको भनाई छ । एआईजीपी राईले एकेडेमीको जिम्मेवारी ५ महिना अघि मात्रै पाएका थिए ।

नेपाल प्रहरीका एआईजी राई यस्ता प्रहरी अधिकारी हुन् जो एकेडेमीको जिम्मेवारीमा आउन अघि जम्मा दुई पटक मात्रै इन्चार्जको जिम्मेवारीमा बसेका छन् । त्यसबाहेक उनी आतंकवाद र अन्तरदेशीय अपराधको जालो तोड्न खटिने प्रहरीको गुप्तचरी निकाय विशेष ब्यूरोमा कार्यरत रहे ।

१९ वर्ष विशेष ब्यूरोमा काम गरेका राईलाई तेश्रो इन्चार्जबाट ५ महिनामै हटाउने तयारी गरिएपछि प्रहरीभित्र पनि तिव्र असन्तुष्टी सुरु भएको छ । ‘यो भन्दा अर्को बिडम्बनापूर्ण अन्याय केही हुन्न,’ एक प्रहरी अफिसरले भने, ‘सेवा अवधिको सबै उर्बर समय इमानदारिताको साथ देशको लागि खर्चेको अफिसरले बल्ल–बल्ल तेश्रो इन्चार्ज पाउनु भएको थियो । त्यही पनि हटाउने कुरा आयो । यो राम्रो गर्ने प्रहरी अफिसरहरुलाई निरुत्साहित पार्ने बिषय पनि हो ।’

एकेडेमीमा राईलाई हटाएर उपत्यका प्रहरी प्रमुख एआईजीपी श्याम ज्ञवालीलाई एकेडेमीमा लैजाने तयारी गरिएको छ । ज्ञवाली प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठको विश्वास पात्र हुन् । स्रोतका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ज्ञवालीलाई उपत्यकाबाट हटाउन दबाब दिएपछि प्रधानमन्त्री र गृहमन्त्री श्रेष्ठले आफ्नो विश्वासपात्र ज्ञवालीलाई एकेडेमी लैजाने लागेका हुन् ।

प्रधानमन्त्री र गृहमन्त्रीले ज्ञवालीलाई संरक्षण गर्नुपर्ने र देउवाले हटाउने पर्ने अवस्था आएपछि राई कोपभाजनमा परेको स्रोतको भनाई छ । स्रोतका अनुसार एआईजी राईले आईजीपी कुँवरलाई फोन गरेर आफूलाई कार्य विभाग होइन राष्ट्रिय सुरक्षा परिषद्मा पठाउन भनेका छन् । राष्ट्रिय सुरक्षा परिषद् प्रहरी अधिकारीहरुलाई थन्काउने निकायको रुपमा लिइन्छ । ‘मलाई अन्याय र अपमानको श्रृखला चलिरहेकै छ,’ उनले भनेका छन्, ‘मलाई कार्य विभाग होइन सुरक्षा परिषद् पठाइदिनुहोस् ।’

निरन्तर दोस्रो बरियतामा रहेका एआईजी राई आईजीपीको बलियो दाबेदार थिए । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको मान्छे निकट भनेर अन्याय गरिएको प्रहरीका अधिकारीहरुको भनाई छ ।

को हुन् राई ?

अप्ठ्यारोमा देशले खोज्ने ‘लो प्रोफाइलका अग्लो कमाण्डर’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७