खाँणलाई अदालतले दोषी ठहर गरे मात्रै पार्टीले कारबाही गर्छ : नेता सिंह

चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाँणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले काराबाही गर्ने बताएका छन् ।
नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले आरोप लाग्दैमा कारबाही गरिहाल्नु पर्छ भन्ने नरहेको स्पष्ट पारे । उनले अहिले अदालतमा विचाराधीन रहेको मुद्दामा कांग्रेसले पहिला पनि कारबाही नगरेको भन्दै खाँणको विषयमा समेत मुद्दाको फैसला आएपछि मात्रै निर्णय गर्ने बताए ।
पुरानो नजिरलाई लिएर खाँणलाई कारबाही नगरिएको उनको भनाइ थियो । उनले भने, ‘पहिले पनि यस्ता मुद्दामा अदालतको फैसलापछि मात्रै कारबाही गर्ने गरिएको थियो । त्यहीअनुसार अहिले कारबाही नगरिएको हो ।’ कांग्रेस भ्रष्टाचारको संरक्षणमा भने नलाग्ने उनले स्पष्ट पारे । उनले भने, ‘निष्पक्ष तवरले कानुनी राज्यको पक्षमा कांग्रेस रहेको छ । आफ्ना पार्टीका नेतालाई पर्दा कानुन लाग्नु हुँदैन भन्ने पक्षमा कांग्रसे नहरेको उनको भनाइ थियो ।