काठमाडौं, ३ बैसाख : भारतको सबैभन्दा सुरक्षित मानिएको १४६ वर्ष पूरानो जोधपुर सेन्ट्रल जेल फेरि चर्चामा आएको छ । यो जेलको वार्ड संख्या २ मा बन्दी दुष्कर्मका आरोपी आसारामको मुद्दामा २५ अप्रिलमा फैसला हुँदैछ ।
यो वार्ड र यसको ब्यारेक नम्बर २ सधैं चर्चामा रहिरहन्छ । अपरेशन ब्लू स्टारका आतंकवादीदेखि लिएर फिल्मी स्टारसम्मलाई यहाँ राखिएको छ । हालै २ दिनसम्म बलिउड सुपरस्टार सलमान खान पनि यही वार्डमा बसेका थिए । यहाँ स्वतन्त्रता आन्दोलनका बेलापूर्व मुख्यमन्त्री जयनारायण व्याससहित कैयौं स्वतन्त्रता सेनानी पनि बन्द थिए ।
यो जेलको सुरक्षा घेरा अपरेशन ब्लू स्टारका बेला निकै मजबुत बनाइएको थियो ।
जब १९८३ मा पंजाबमा आतंकवाद चरम अवस्थामा थियो त्यतिबेला खालिस्तानका ३६५ आतंकवादीहरुलाई जोधपुर जेलमा सारिएको थियो । यसमा खालिस्तानका नेता गुरुचरण सिंह टोहरा र उनकी पत्नी अमरजीत कौर पनि थिए । टोहरालाई त्यसपछि काजरीमा नजरबन्द गरिएको थियो । यही समय केन्द्रीय गृह मन्त्रालयले विशेष फंड जारी गरेर वार्ड २ मै विशेष टाडा कोर्ट (अदालत) को निर्माण गराएको थियो । जो अहिले पनि यथावत नै छ ।
त्यतिबेला यहाँ रहेका आतंकवादीको मुद्दाको सुनुवाइ यही अदालतमै भएको थियो । १९८८ सम्म यहाँको अदालत संचालनमा रह्यो त्यसपछि खलिस्तानका आतंकवादीहरुलाई पंजाब पठाइयो । जोधपुर सेन्ट्रल जेलमा ४० वर्षसम्म जेलर रहेका हिम्मत सिंह चौहानका अनुसार यसलाई अति सुरक्षित जेल बनाउन यसको बाहिरी पर्खाललाई २० फिट अग्लो बनाइएको छ । पर्खालमाथि काँडेतार लगाएर तारमा विद्युत प्रवाह गरिएको छ । ७ वटा वाच टावर बनाइएको छ । जेलको पर्खाल दोब्बर गरिएको छ जसलाई पार गर्न सम्भव छैन । यहाँ सुरक्षाकर्मीको घेरा तीन स्तरीय कायम गरिएको छ ।
सुरक्षित भएकै कारण १९८८ मा यहाँ १९८८ मा कश्मीर मुद्दाका २२ आतंकवादीहरुलाई वार्ड २ को पछाडि डेढ र २ नम्बर ब्यारेकमा राखिएको थियो । यसपछि १९९२ मा नागाल्याण्डको नगा फ्रन्टका केही उग्रवादीहरुलाई पनि यहाँ बन्द गरियो । यद्यपि सुरक्षित जेल मानिए पनि यहाँ २०१० मा तत्कालीन जेलर भारत भूषण भट्टको जेलमै हत्या भयो । उनको हत्या एक विचाराधीन कैदीले गरेका थिए । यो जेलमा १९६५ को युद्धका क्रममा पाकिस्तानले लडाकू विमानद्वारा बम खसालेको थियो । यो आक्रमणमा ३० कैदीसहित ३२ जनाको ज्यान गएको थियो । बलमे फाँसीको तख्ता क्षतिग्रस्त भएपछि यो जेलमा फाँसी दिन बन्द गरिएको छ । एजेन्सी