बाढीले पुर्याएको क्षतिको विवरण संकलन
कालीकोट । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका- ८ र ९ मा गत जेठ २५ र २६ गते परेको अविरल वर्षाले चल अचल सम्पति, अन्नबाली र पशु चौपयामा पुर्याएको क्षतिको विवरण सङ्कलन गरिएको छ ।
खुलालु प्रहरी चौकीका वरिष्ठ हवल्दारलगायत सुरक्षाकर्मीको टोली र जनप्रतिनिधिले स्थानीय पीडितको समन्वयमा प्रत्यक्ष अवलोकन गरी विवरण सङ्कलन गरेको वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए ।
‘मानवीय क्षति केही नभए पनि भौतिकरुपमा र पशु चौपायाको ठूलो क्षति भएको छ’, उनले भने, ‘२५ र २६ गते परेको अविरल वर्षासँगै आएको बाढीले हालसम्म १५ वटा घर उच्च जोखिममा पुर्याउनाका साथै दुई पक्की पुल, छ वटा बाख्रा र एक भैँसी बगाएको छ ।’
प्रत्येक बस्तीमा खोला फर्किएर आइ बस्तीलाई जोखिममा पुर्याएको, गाउँको पुरै मकैबाली बालुवामा परिणत भएको र खेतको धानको बीउ पनि पुरेको उनले जानकारी दिए । क्षतिको सम्पूर्ण विवरण सङ्कलन गरी विपद् न्यूनीकरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको वडा नं ८ का वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए ।